काठमाडौं । प्रदेश सरकार निर्माणको विषयमा सत्ता गठबन्धनमा छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा प्रदेश सरकार निर्माणसहित अन्य विषयमा छलफल भएको हो । प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली तथा माओवादीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एमालेले लिने, मधेस प्रदेशमा जसपा र जनमत पार्टीबीच आधा–आधा कार्यकाल नेतृत्व गर्ने र बाँकीमा माओवादी केन्द्रले लिने विषयमा ओली र प्रचण्डबीच छलफल भएको हो ।
संघमा सत्ता गठबन्धन परिवर्तन हुनेबित्तिकै प्रदेशमा पनि नयाँ समीकरणको अवस्था सिर्जना भएको छ । सातै प्रदेशमा गठबन्धनको बहुमत पुग्ने अवस्था छ । एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यामलाल कँडेल संसदीय दलको नेता बनिसकेका छन् । वाग्मती प्रदेश संसदीय दलको नेतामा चितवनका जगन्नाथ थपलिया निर्विरोध निर्वाचित हुने सम्भावना छ ।
मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेले दलको नेता छान्न बाँकी छ । तीनवटा प्रदेशको नेतृत्वमा आफूहरूको दाबी रहेको माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले बताए । प्रदेश १ मा ४० सिट जितेको एमाले पहिलो दल छ भने १३ सिट जितेको माओवादी तेस्रो दल छ । केन्द्रमा गठबन्धनभित्रै रहेको राप्रपाले ६ सिट जितेको छ ।
जसपाको १ सिट छ । सरकारमा सहभागिताबारे छलफलमा रहेको एकीकृत समाजवादीले ४ सिट जितेको छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तीमा ४७ सिट चाहिन्छ । माओवादीबाट प्रदेश १ मा इन्द्र आङ्बो संसदीय दलको नेता निर्वाचित भएका छन् । मुख्यमन्त्रीका लागि वार्ता गर्न माओवादीले स्थायी समिति सदस्य राम कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरेको छ ।
