राष्ट्रियसभा उपनिर्वाचन हेटौंडा अपडेट

राष्ट्रियसभा उपनिर्वाचन हेटौंडा अपडेट

हेटौंडा । बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचनका लागि विवादित र विवादरहित तीन जनाको उम्मेदवारी परेको छ । माओवादी केन्द्र परित्याग गरी एमालेबाट रामबहादुर थापा मगर बादल, स्वतन्त्रका तर्फबाट खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले शुक्रबार मनोनयनपत्र दर्ता गराए ।

तीनै जना उम्मेदवार प्रतिस्पर्धी भएपनि थापा र देवकोटाबीच कडा प्रतिस्पर्धा हुने हेटौडावासीले आँकलन गरेका छन् । एमालेकै माधवकुमार नेपाल पक्षको समर्थन पाएका देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को साथ छ । नेपाल पक्षले साथ नदिए थापा राष्ट्रियसभामा पुनर्निर्वाचित हुन कठिन देखिएको छ।

गृहमन्त्री थापाले हेटौैंडा–५ स्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा शुक्रबार मध्याह्न उम्मेदवारी दर्ता गराए। थापाका प्रस्तावक बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्। देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले छन् ।

नेमकिपाबाट तामाङको प्रस्तावकमा सुरेन्द्रराज गोसाईँ र सृजना सैंजुको समर्थन छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य एक जनाको मतबराबर ४८ मत र स्थानीय तहका प्रमुख र उपप्रमुखको एक मतबराबर १८ मत गणना हुने बागमती प्रदेश निर्वाचन आयोगले जनाएको छ।

प्रदेशभित्र १ सय १० प्रदेशसभा सदस्यको ५ हजार २ सय ८० र १ सय १९ स्थानीय तहका २ सय ३८ अध्यक्ष र उपाध्यक्षका ४ हजार २ सय ८४ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ। जम्मा ९ हजार ५ सय ६४ मत रहेकोमा एमालेको मात्र मतसंख्या ९ हजार ५ सय ५६ छ। तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ३४ प्रदेशसभा सदस्यको १ हजार ६ सय ३२ मत छ।

नेपाल पक्षका २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४ मत छ। माओवादी केन्द्रको २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४, कांग्रेसका २२ प्रदेशसभा सदस्यको १ हजार ५६ मत छ। नेमकिपाका दुईसहित अन्य आठ प्रदेशसभा सदस्य छन्।स्थानीय तहका अध्यक्ष र उपाध्यक्षमध्ये ४० प्रतिशत आफ्नो पक्षका रहेको नेपाल खेमाको दाबी छ। नेपाल पक्षले घोषणा नगरे पनि आफैंले खडा गरेको देवकोटालाई मत हाल्ने तयारी छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.