काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जननएको छ ।
हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्तो कदम चालिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षा गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम रोकिए छ ।
यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा परेका थिए । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रियामा प्रवेश गरेकाहरु ३ वर्षभन्दा पछिको मात्रै परीक्षाको मिति पाएपछि अन्योलमा छन ।
लाइसेन्सको परीक्षा शुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिएका छैनन् । नियमित शैलीमा परीक्षा लिइरहेका छन् । चैत २०७६पछि झण्डै २०७७ पुससम्म अनुमतिपत्र बन्द गरेर खुलेकाले अनलाइन प्रणालीमा चाप उच्च थियो ।
