भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

विदेश छाडेर गाउँमा बाख्रापालन

विदेश छाडेर गाउँमा बाख्रापालन

गलेश्वर । आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल हुनुभएको छ ।

उहाँले करिब ६ वर्ष खाडी मुलुकमा विताएर तीन वर्ष अघि स्वदेश फर्किनुभयो । शुरुमा अष्ट्रेलिया जाने सोचेपनि त्यसलाई त्यागेर यही बाख्रापालन थाल्नुभयो । बुबाले रहरले पाल्नुभएका स्थानीय जातका बाख्रामा मल्लको ध्यान गयो । अहिले भने बोयर जातका बाख्रापालन गर्नुभएको छ ।

‘‘विदेश जाने सोच त्यागेर बाख्रापालन गरेको छु, जेठसम्म रु १२ लाखका बोका बिक्री गरेर त्यसलाई बाख्रापालनमा नै थपेको छु’’, मल्लले भन्नुभयो । करिब रु ११ लाखबाट शुरु भएको व्यवसायमा लगानी ३० लाख पुगेको छ । खोरमा अहिले २८ वटा बोएर छन् । ठूलो क्षेत्रफलमा उन्नतजातको घाँस समेत लगाइएको छ । बाख्रा र बोका बिक्रीबाट वार्षिक रु २० लाखसम्म कमाइ गर्ने लक्ष्य छ ।

उहाँको फार्ममा तीन लाखसम्म पर्ने बोयर बोका छन् ।‘‘यहाँको कमाईले म पूर्णरुपमा सन्तुष्ट छु,आम्दानीलाई दोब्बर बनाउने गरी थप खोर विस्तार गदैंछु’’,नेपाल व्यावसायिक बाख्रापालन महासंघ म्याग्दीका अध्यक्ष समेत रहनुभएका मल्लले भन्नुभयो । अष्ट्रेलियाबाट आयात गरिएको बोयर जातको बोका र एक माउबाट शुरु भएको बाख्रापालन यसै वर्ष ५० पु¥याउँने लक्ष्य छ । थप बोयर मगाइएको छ ।

खोरमा एक वर्षमा दोब्बर हुने गरी माउ राखिएको छ । मल्लले यूवापुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताउनुभयो । कृष्ण बहुउद्देश्य कृषि तथा पशुपालन फार्म दर्ता गरेर मासुको प्रयोजनका लागि नभइ शुद्व बोयर एवम् स्थानीय खरी जातको बाख्रालाई बोयर बोका दिएर नस्ल सुधार गर्दै उन्नतजातका पाठापाठी बिक्री गरी कृषकलाई बाख्रापालन व्यवसायमा प्रेरित गर्ने योजना मल्लको रहेको छ ।

छिमेकीको बाँझो जमिन भाँडामा लिएर घाँस खेतीसमेत विस्तार गरिएको छ । उता बेनपा ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले वडालाई कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा विकास गर्ने ध्येयले पशुपालक कृषकलाई आवश्यक सहयोग गरेको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.