काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको ‘नेकपा’ का गतिविधिमाथि सूक्ष्म निगरानी राख्न हतियारसहित गस्तीमा जान देशभरका प्रहरी युनिटलाई परिपत्र गरिएको छ । ब्यारेक र कार्यालय तथा विप्लवका गतिविधिबारे सूचना र सुराकी दिनेको सुरक्षामा पनि सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
मंगलबार मोरङको उत्तरी भेग मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको सुराकी आरोपमा घाँटी रेटी हत्या गरेको आरोप नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई लागेको छ । त्यसपछि प्रहरीले थप सतर्कता अपनाउदै यस्तो निर्देशन दिएको हो । हिंसात्मक गतिविधिमा विप्लव नेतृत्वले जिम्मा लिदैन थियो ।
तर मंगलबार सुराकी गरेको आरोपमा हत्या गरिएको स्वीकार गरेपछि आतंक फैलिन सक्ने भन्दै प्रहरी संवेदनशील बनेको जनाएको छ । त्यस्तै घटना अन्य स्थानमा हुन नदिन भन्दै प्रहरी प्रधान कार्यालयले यसप्रति सचेत र चनाखो रहन सातवटै प्रदेश, महानगरीय प्रहरी कार्यालय र देशभरका संघीय इकाइ कार्यालयको ध्यानाकर्षण गराएको छ ।
बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले कार्यविभाग प्रमुख (एआईजी) हरिबहादुर पाल र विशेष ब्युरोका डीआईजी प्रकाशजंग कार्कीसँग चन्द समूहका गतिविधि नियन्त्रण र प्रहरीले लिने आगामी रणनीतिबारे छलफल गरेका थिए । त्यसपछि दिउँसो गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई मन्त्रालयमा बोलाएर चन्द समूहका गतिविधिबारे जानकारी लिएका थिए ।
विप्लवका गतिविधि नियन्त्रण गर्नका लागि हातहतियार तथा सुरक्षा सामग्रीसहित दैनिक गस्ती र निगरानी बढाउने, कार्यालय, सुरक्षा ड्युटी, पालोपहरा एवं प्रहरीलाई सूचना दिने सूचकहरूको सुरक्षाका लागि समेत आवश्यक उच्च सतर्कता अपनाउने व्यवस्था मिलाउन हुन अनुरोध गरिएको छ ।
विप्लव नेकपाका गतिविधिमा २०७५ माघ २८ गते मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएको थियो । यसक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले १ हजार ९ सय ५० जनाभन्दा बढीलाई पक्राउ गरी अदालत तथा जिल्ला प्रशासनमार्फत मुद्दा चलाएको थियो । सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहित १ सय ४३ जना पुर्पक्षका लागि कारागारमा प्रहरी हिरासतमा छन् ।
