विभिन्न देशमा रहेका दूतावासमा तत्काल २० जना कर्मचारी पठाउने

विभिन्न देशमा रहेका दूतावासमा तत्काल २० जना कर्मचारी पठाउने

काठमाडौँ । थप २० जना कर्मचारी विभिन्न देशमा रहेका राजदूतावासमा पठाइने भएको छ। जनशक्ति अभावको समस्या भोग्दै आएका दूतावासहरूको समस्या समाधान गर्न सरकारले थप २० जना कर्मचारी पठाउने जनाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूतावास तथा वैदेशिक रोजगारीमा देखिएका समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीको निर्देशनमा सरकारले तत्काल थप कर्मचारी पठाउन लागेको जनाएको छ ।

नेपालमा दुई दिनसम्म चलेको राजदूतहरूसँगको छलफल कार्यक्रममा राजदूतहरूले कर्मचारी अभावबारे जानकारी गराएका थिए। सोही आधारमा विभिन्न देशमा रहेका दूतावासमा तत्काल २० जना कर्मचारी पठाउने भएको हो। ती देशहरूमा दिनप्रतिदिन नेपाली विद्यार्थी तथा श्रमिकहरू बढ्दै गएका छन्। तर,दूतावासमा सीमित जनशक्ति छन्।

जसले गर्दा काम गर्न असहज भइरहेको राजदूतहरूले गुनासो गरेका थिए। दूतावासका फोन समेत उठ्न नसक्ने अवस्था छ। कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या आइरहेको उनीहरूको भनाइ थियो। हाल दूतावासहरूमा ३ देखि ५ जनाको हाराहारीमा कर्मचारीले सेवा प्रवाह गर्दै आएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सरकारले अति आवश्यक रहेका मुलुकहरूमा तत्काल कर्मचारी पठाउन लागिएको हो।

 


Thali Mobile Pvt.Ltd.