काठमाडौं । हुस्सु र शीतलहरका कारण मधेसको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् ।मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो ।
एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो तर, बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ ।कठ्याङ्ग्रिदो चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासवानलगायत दलित तथा अतिविपन्न परिवार चिसोबाट बढी प्रभावित भएका छन् । विपन्न परिवार परालको भरमा रात बिताउन थालेका छन् ।
परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बह्मपुरी गाउँपालिका–३ भेल्हीका उपेन्द्र रामले बताए । तेतरी सदा मुसहरले जाडोका कारण दैनिकी कष्टकर बनेको बताए । कठ्याङ्ग्रिएर सर्लाहीमा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुर र वडा नम्बर ९ पिडारीमा उनीहरुले ज्यान गुमाएका हुन् ।
प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ । अत्यधिक चिसो तथा शीतलहरका कारण स्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले बताए ।
