सामाजिक क्षेत्रमा विविध कार्यगरी श्री युवा बचत तथा ऋण सहकारी संस्था लि. ले समुदायमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेर होस् वा अन्य कार्यक्रम गरेर होस वचतकर्ताको मन मुटुमा बस्न सफल भएको छ । यो कसरी भयो ? यहाँ सम्म आउँदा के कस्ता चुनौतीको सामना गर्न पुग्यो ? यही विषयमा केन्द्रीत रहेर सस्थाका अध्यक्ष प्रकाश बास्तोलासंग हामीले कुराकानी गरेका छौं । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः सम्पादक
आर्थिक तरलता भएका बेला सहकारीको भूमिका प्रति प्रश्न उठ्न थालेको छ । सदस्यहरुले आफूले बचत गरेको रकम सुरक्षित छ भनेर ढुक्क हुने अवस्था छैन के भन्नु हुन्छ ?
सहकारी क्षेत्रमा म निरन्तर १३ वर्षदेखि कार्यरत छु । अहिले नगरपालिका भएपनि हामी ग्रामीण समुदायमा नै छौं । यहाँ विगत २०/२५ वर्ष पहिलेको जीवन हेर्दा अति नै दुःखको जीवन थियो ।
मान्छेका आधारभुत आवश्यकताहरु प्नि पुरा हुन सक्दैन थ्यो । दैनिक खर्चहरु पनि धान्न मुस्किलको अवस्था थियो । मान्छेको जीवनयापन परिवर्तनमा सहकारी संस्थाहरुको ठूलो योगदान छ । वित्तीय क्षेत्रमा पहुँच पुगेको छ । सामान्य जीवनयापन सहज बन्दै गएको छ ।
म यो सहकारी क्षेत्रमा लागेदेखि नै सहकारीको ठुलो भुमिका छ जस्तो मलाई लाग्छ । अर्को कुरा हाम्रो यो सहकारी नितान्त समुदायमा आधारीत संस्था हो । अहिले हामीसंग ५ हजार ७ सय भन्दाबढी सदस्य छन् । सहकारीका सदस्यहरु मार्फत हामी बचत संकलन गर्दै आएका र्छौं । थोरै परिमाणमा उहाँहरुको क्षमताको आधारमा शेयर पनि खरिद गराउँछौं ।
कारोबार कसरी गर्नु हुन्छ ?
समुदायमा बस्नुे मानिसहरुलाई सदस्य बनाएर नै हामी कारोबार गर्छौं । उहाँहरुको बचतलाई संकलन गरेर त्यहि पैसालाई ऋणमा लगानी गर्छौं । ऋण सदस्यलाई नै परिचालन गर्छौं । समुदायमा आधारीत सहकारी संस्था भएकाले हामी सदस्यहरुसंग मात्रै कारोबार गर्छौं । सहकारीको नीति, नियमबारे सदस्यलाई जानकारी गराउँछौं ।
त्यसै अनुसार आफ्नो कार्य क्षेत्र भित्र मात्र सदस्यसंग कारोबार गर्छाैं । सहकारीको नीति, नियमलाई परिपालन गरेर हामी अघि बढिरहेका छौं । त्यसैले पनि होला तपाईंले भनेको जस्तो हामीकहाँ अरु सहकारीको जस्तो समस्या छैन । सदस्यहरुको बचत पनि सुरक्षित नै छ र हुन्छ भन्ने दावाका साथ भन्न सक्छु ।
पैसा लगानी कहाँ गर्नु हुन्छ ?
समुदायबाट उठाएको पैसा हामी समुदायमा नै लगानी गर्छौं । हामीमा कुनैपनि व्याक्ति स्वार्थको समस्या छैन । सदस्यको समस्या नै हाम्रो समस्या हो भन्ने ठानेर हाम्रा सदस्य ऋण परिचालन गर्छन् । त्यसैले पनि हामीकहाँ समस्या नदेखिएको हो ।
एउटा भनाई छ नि ‘६ देखि १२ प्रतिशत ब्याजदर ठिक्क, त्यो भन्दामाथि ब्याजको लोभमा पर्नेहरु दिक्क’ यस भनाइबारे तपाईं के भन्नुहुन्छ ?
सहकारीको नियम अनुसार १६ प्रतिशतसम्म व्याज लिन पाउने भन्ने छ । त्यसको मार्जीन दर अधिकतम् ६ प्रतिशतसम्म गर्न सक्छौं । विगतमा सहकारी सञ्चालन गर्दा व्यवसायीले सहकारी भित्र विभिन्न वाहानामा सेवा शुल्क उठाउने र दुरुपयोग गर्ने गरेको देखिन्छ ।
२० प्रतिशत व्याज बचतमा दियो भने कतिमा लगानी गर्ने ? भन्नेकुरा पनि हुन्छ । उनिहरुले सदस्यलाई लगानी गर्छु भनेर होईन, आफै लगानी गर्ने उद्देश्य लिएको देखिन्छ । सहकारीको नियम १६ प्रतिशतसम्म जान पाउने, बचतको मार्जीन ६ प्रतिशत भन्दा माथि जान नपाउँने भन्ने छ । त्यसको अधिनमा रहेर हामीले काम गरिरहेका छौं ।
तपाईंको सहकारीको मार्जीन कति हो ?
हाम्रो अहिलेको मार्जीन ४.५ प्रतिशत भन्दा पनि तल रहेर काम गरिरहेका छौं । यहीबीचमा पनि सदस्यलाई कसरी सेवा सुविधा दिने ? भनेर लागिरहेको छौं । ऋण परिचालन गर्दा पनि बजारको दरअनुसार र बजारको प्रतिस्पर्धा अनुसार
चल्नुपर्ने भएकाले अन्य वित्तीय संस्थाहरुको आधारमा पनि चल्नुपर्ने बाध्यता त हुन्छन् नै, तर पनि मार्जीनलाई हामीले कसरी घटाउन सकिन्छ भननेमा केन्द्रीत रहेर समुदायका सदस्यहरुलाई सेवा सुविधा दिने बारेमा सोचेका छौं ।
भवन हेर्दा जति चिटिक्क छ, यहाँ भित्रका गतिविधिहरु पनि चिटिक्कै छन् कि ? कस्तो छ ?
होम्रो भवन मात्रै होइन, सेवा सुविधा पनि चिटिक्कै छन् । तपाईं आफै पनि हेर्न सक्नु हुन्छ । यसमा कुनै दुविधा मान्नुपर्ने अवस्था छैन । हाम्रो सम्पूर्ण सम्पछि समुदायकै सम्पति हो भन्ने हाम्रो मान्यता हो । हामीले त्यही मान्यता अनुसार नाफाबाट बचेको रकम सामाजिक कार्यका लागि लगानी गर्छौं ।
सामाजिक क्रियाकलापमा हाम्रा सदस्यहरु पनि असाध्यै सक्रिय छन् । समाजलाई के कुराको आवश्यकता छ त्यो कुरामा हामी डटेर लाग्ने हाम्रो प्रयत्न रहन्छ । हामीले एम्बुलेन्स पनि सञ्चालन गरेका छौं । त्यस्तै प्रतिक्षालय बनाइरहेका छौं ।
मन्दिरहरुमा आवश्यक सामाग्री पनि उपलब्ध गराएका छौं । समुदायमा आधारित सिपमुलक तालिमसमेत प्रदान गर्दै आएका छौं । शिक्षामा पनि योगदान गरेका छौं । यसका लागि छात्रवृत्ति कोष बनाएर वर्षमा उत्कृष्ट विद्यार्थी सम्मान, विपन्न, जेहेन्दार विद्यार्थी छात्रवृत्ति जस्ता आकर्षक कार्यक्रम पनि राखेका छौं । त्यहि भएर पनि होला यो सहकारी समुदायकै एउटा अंगको रुपमा रहेको छ ।
बचतकर्ता लक्षित योजनाहरु के के छन् ?
समुदायलाई जे आवश्यक छ त्यो हिसाबले हामीले लक्षित योजना बनाउँछौं । त्यो अनुसार ऋण लगानी गर्न सक्षम् छौं । स्वास्थ्यमा एक लाखसम्मको निव्र्याजी ऋण एक वर्षसम्म दिने गरेका छौं । अब बीमा क्षेत्रमा लगानी गरेर अझ अगाडि बढ्नुपर्छ भन्नेमा छौं ।
बीमा मार्फत उठाएको पैसा बीमित मध्ये कोही विरामी भयो भने उसलाई सहयोग गर्न र कसैको मृत्यु भयो भने किरिया खर्च वापत बिस हजार रुपैयाँ दिने योजना बनाएका छौं । जब सदस्यहरु मध्ये कसैको बच्चा जन्म भयो भने त्यतिबेला नवजात शिशु र सुत्केरी आमाको स्याहारका लागि खर्च उपलब्ध गराउने गरेका छौं ।
सहकारीको सदस्य बन्ने प्रक्रिया र सहकारीहरुको भीडमा युवा बचत नै किन रोज्ने ?
सहकारीको सदस्यता प्राप्त गर्न एउटा सदस्यता फारम भर्नु पर्छ । यस क्षेत्रमा बसोबास गरेको प्रमाणपत्र अनिवार्य चाहिन्छ । यसरी सदस्यता लिन सकिन्छ । संस्थाको संचालक समितिले अनुमोदन गर्नु पर्छ ।
अन्तमा केही भन्नै पर्ने भए भन्न सक्नु हुन्छ ।
समुदायको उत्थान र विकास कसरी हुन्छ ? र निम्न वर्गका मानिसको जीवनस्तर समान कसरी बनाउँन सकिन्छ भन्नेमा हामी लागि परेका छौं । समुदायमा बस्ने मानिसको पहुँच र जीवनस्तर कसरी उठाउन सकिन्छ तथा जीवनस्तरलाई सरल र सहज बनाउने लक्ष्य हाम्रो सस्थाले लिएको छ ।
यो अभियानमा हामी सबै सहभागि बनौँ भन्न चाहान्छु । अन्तमा मेरो विचार र सहकारीका बारेमा केहि कुरा जनतामाझ राख्ने अवसर दिएकोमा कैलाश खबर परिवार प्रति नमन गर्दछु । धन्यवाद ।
तस्वीरमा…
भिडियाे हेर्नुहाेस् …
