संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् । इजरायलमा हमासको आक्रमणपछि भ्रमण स्थगित गरिएको थियो । नेपाल बसाईको क्रममा गुटेरेसले नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्तिक २ गते संघीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।

महासचिव गुटेरेसले सम्बोधन गर्ने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गरिनेछ । प्रतिनिधि सभा बैठक कार्तिक १२ गते बोलाइएको सो सम्बोधनबारे सोही बैठकमा प्रतिनिधि सभाका सांसदहरुलाई जानकारी गराइने र राष्ट्रिय सभाका लागि सूचना जारी गर्न सकिने छ ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्र संघको महासचिवको रुपमा दोस्रो कार्यकाल हो ।

प्रधानमन्त्री तथामन्त्रिपरिषद् कार्यालयबाट संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको संघीय संसद सचिवालयले जनाएको छ । महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई शुरु गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.