भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

सन्दर्भ भानु जयन्ती : सडकमै हराउँदै छ आदिकविको शालिक

सन्दर्भ भानु जयन्ती : सडकमै हराउँदै छ आदिकविको शालिक

झापा । चारआली–केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको शालिक सडकमै हराएको छ ।

मिल मर्चेन्ट एशोसिएशन नामक संस्थाले विसं २०२४ मा स्थापना गरेको शालिकको अस्तित्व सडकका कारण हराएको हो । तत्कालीन समयमा सो संस्थाले सडकमा भानुको स्मारक राखेपछि ठाउँको नाम नै भानुनगर नामकरण गरिएको थियो ।

तत्कालीन समयमा शालिकको अनावरण नाट्यसम्राट बालकृष्ण समले गर्नुभएको वरिष्ठ पत्रकार गोपाल गिरीले जानकारी दिनुभयो । उहाँले भानु स्मारकलाई विगतमा फलामे घेराबारा लगाउने र रङरोगनको कार्य भद्रपुर नगरपालिकाले गरेको बताउनुभयो । सडकको स्तरोन्नतिसँगै बीच सडकमा बनाइएको शालिक हाल सडकभन्दा पनि तीन फिट गहिरो स्थानमा रहन पुगेको छ ।

भानु स्मारकको संरक्षण देवकोटा स्मृति भवनले गर्दै आएको भवनका अध्यक्ष राजेन्द्र चापागाईँले जानकारी दिनुभयो । “सडकको स्तरोन्नतिसँगै स्मारक पुरिदै गएको छ”, उहाँले भन्नुभयो, “तत्काल अग्लो स्मारक बनाएर त्यही शालिक राख्नुको विकल्प छैन । स्थानीय पालिकासँग कुरा भइरहेको छ ।”

उहाँले भानु स्मारक भद्रपुरको इतिहास भएकाले यसलाई अयन्त्र सार्ने वा यसको अस्तित्व मेट्ने काम गर्न र नगराउन सबैसँग आग्रह गनुभयो । उहाँका अनुसार विगतदेखि नै भद्रपुर नगरपालिकाभरिका साहित्यानुरागी, बृद्धिजीवी र स्थानीयवासीले असार २९ गते भानुभक्तको जन्मजयन्तीको अवसर पारेर शालिकमा माल्यार्पण गर्ने, भानुभक्तको गुणगान गाउँदै कविता बाचन गर्दै आएको बताउनुभयो ।

उहाँले चालु आर्थिक बर्ष २०७८÷७९ मै भानुको शालिकलाई अग्लो स्मारक बनाएर राख्नका लागि पहल सुरु गरेको बताउनुभयो । उहाँले शालिक बनाउँदा सो सडकको नाम मेची राजमार्ग रहेको र सडकको आकार पनि सानो रहेको जानकारी दिनुभयो । “तत्कालीन समयमा सडकभन्दा अग्लो भानुको शालिकसहितको स्मारक बनाइएको थियो”, उहाँले भन्नुभयो ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भाषा, कला साथै साहित्यका धरोहरहरूको पुरानो इतिहासलाई मेटिन नदिने, त्यसको संरक्षण र संवद्र्धनमा नगरपालिकाले पहल गर्ने बताउनुभयो । उहाँले दबिएको भानुको स्मारकलाई बजेट व्यवस्थापन गरेर अग्ल्याउने काममा पालिका लागिपर्ने जानकारी दिनुभयो । “सबैसँगै छलफल गरेर यसको व्यवस्थापन हुन्छ”, उहाँले भन्नुभयो ।

शालिकलाई बीच सडकमा भन्दा पनि उपयुक्त ठाउँको व्यवस्थापन गरेर स्थान्तरण गर्नु उपयुक्त हुने हुलाकी सडक डिभिजन कार्यालयका इञ्जीनियर प्रमोद खतिवडाको भनाइ छ । उहाँले बीच सडकमा भएको शालिकका कारण दुर्घटनामा धेरैले ज्यान गुमाइरहेको उदाहरण दिँदै उहाँले स्थानीय तहले अन्यत्रै व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

“कुनै बेला सडकमा देशका महान् व्यक्तिहरूको शालिक बनाउने चलन थियो, सवारीसाधानको भीडभाड हुँदैन थियो”, उहाँले भन्नुभयो, “अहिले जनसङ्ख्याको वृद्धिसँगै सडकमा सवारीसाधनको वृद्धि भएको छ । सडकहरू फराकिला बनाइँदैछ तर पनि बीच सडकमा शालिकलाई राख्नुभन्दा निश्चित स्थानमा उद्यान बनाएर राख्दा राम्रो हुन्छ ।”

 


Thali Mobile Pvt.Ltd.