काठमाडौं । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलहरूले बन्दसूची बुझाउँदा लापरबाही गरेको छ । प्रतिनिधिसभामा ४८ दल र प्रदेश सभामा दुई सय १३ दलको बन्दसूचीमा त्रुटि देखिएको छ ।
भद्रगोल सूची बुझाएपछि आयोगको प्रणालीले नै काम गरेको छैन । बन्दसूचीमा त्रुटि गर्नेमा प्रमुख सत्तारूढ दल सहित साना दल रहेका छन् । निर्वाचन कार्यक्रम अन्तर्गत दलहरूलाई बन्दसूची संशोधनका लागि १६ असोजसम्म समय दिइएको छ ।
प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरूले २ र ३ असोजमा बन्दसूची दाखिला गरेका थिए जसमाथि ४–९ सोजसम्म आयोगले छानबिन गरेको थियो ।
जाँचबुझ गर्दा अधिकांश दलको सूचीमा समानुपातिक समावेशी प्रतिनिधित्व नमिलेको पाइएकाले सच्याउन दलहरूलाई पत्राचार गरिएको समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।
दलहरूले सच्याएर ल्याएपछि २२ असोजमा आयोगलाई बुझाउने र त्यसपछि आयोगले अन्तिम बन्दसूची सार्वजनिक गर्ने छ ।
