भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

सरकारले कोराना परीक्षणमा ध्यान दिएन : दिपक बोहरा, पूर्व मन्त्री

सरकारले कोराना परीक्षणमा ध्यान दिएन : दिपक बोहरा, पूर्व मन्त्री image

पूर्व स्वास्थ्य मन्त्री दिपक बोहराले कोरोना नियन्त्रण गर्न नागरिकको स्वास्थ्य परीक्षणमा सरकारले ध्यान नदिएको जिकिर गरेका छन् । नागरिकलाई बचाउन सराकारले पूर्णरुपमा कोरोना परीक्षणमा ध्यान केन्द्रीत गर्नु पर्ने तर्क अघि सारेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका पूर्वमन्त्री बोहरासंग गरिएको कुराकानीको सार संक्षेप : सम्पादक

यहाँलाई कैलाश खबरमा स्वागत छ ।
नागरिक समस्यामा परेको बेला र लकडाउनको बेलामा मेरो विचार सबैसामु पु¥याउने अवसर दिएकोमा तपाई र कैलाश खबर परिवारलाई पनि धन्यबाद ।

लक डाउनमा कस्तो अनुभूति गर्नू भएको छ ?
कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेको छ ।  विश्व मानव समुदाय बचाउन अन्तर्राष्ट्रले पनि अपनाएको अचुक उपाय भनेको लकडाउन नै हो । यो अवस्थामा धेरै चूनौतीको सामना गर्नु परेको छ मानव समुदायले । चूनौतीलाई चिर्दै अवसरको पनि सदुपयोग लकडाउनमा गर्नु पर्छ । सरकारले गरेको लकडाउन सकारात्मक छ ।

यसको पूर्ण पालना आमनागरिकले गर्नुपर्छ । यो संक्रमित व्यक्ति या पशुपंक्षिबाट सर्ने भएकाले ती त्यस्ता पशुपंक्षीबाट टाढै बस्नु पर्छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि सबैभन्दा अचुक उपाय लगडाउनको पालना गरेरै बसेको छु ।

संक्रमित झन् झन् बढिरहेका छन्, सरकारले लकडाउनलाई खुकुलो बनाएको छ के यसबाट नागरिक सुरक्षित होलान त ? कसरी लिनु हुन्छ ?
नोवेल कोरोना भाइरस (कोभिड–१९)का कारण जोखिम बढ्दो छ । संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । विपन्न तथा दैनिक ज्यालामजदुरी गरि परिवार पाल्नेहरुलाई चाहिने वस्तु सरकारले उपलब्ध गराउन सकेको छैन । त्यो सरकारले पुरा गर्न सक्नु पर्थ्याे । नागरिकलाई सुरक्षित राख्नु राज्यको दायित्व हो ।

मानव जीवन सुरक्षाका लागि कल्याणकारी राज्यको अवधारण अवलम्वन गर्दै सरकारले आफ्ना नागरिकको रक्षा गर्नु पर्छ । गत चैत ११ गते देखि शुरु भएको लकडाउन अहिले सम्म आउदा जनजीवन निकै प्रभावित बनेको छ । जनजीवन कष्टकर बनेपछि सरकारले केहि खुकुलो पारेको छ ।

यो समयमा सरकारले लकडाउनलाई व्यवस्थापन गर्न सकेन यहि कारण जनताको लागि दुर्भाग्य बन्न सक्छ । क्वारेन्टाईन अस्तव्यस्त छन् । सरकारले चेकचाँचको दायरा बढाउन सकेको छैन । एक घर एक परिक्षणको नीति सरकारले ल्याउनु पर्छ । क्वारेन्टाईन भनेको मिनि अस्पताल हो ।

त्यसो भने अहिले बनेका क्वारेन्टिनहरु व्यवस्थित छैनन् ?
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार क्वारेन्टाइन बनेका छैनन् । यसमा सरकारको ध्यान पुगेको छैन । जताततै अस्तव्यस्त छ । क्वारेन्टाइन, आइसोलेसन र अस्पतालको व्यवस्थापनमा सरकार चुकेको छ । त्यसैले यी ठाउँहरुको व्यवस्थापन गर्न सकेपछि मात्र लकडाउनले सार्थकता पाउने थियो ।

मुलकलाई बन्दाबन्दिमा राख्ने नागरिकका न्यूनतम आवश्यक्ता पुरा नगर्ने हो भने कोरानाले भन्दा मानिस भोकले मर्ने सम्भावना बढी छ । तसर्थ सरकारले जनतालाई सुरक्षित रहने मापदण्ड अपनाई उत्पादन कार्यमा लाग्न प्रोत्साहन गर्नु पर्छ । अनि मात्र नागरिकको जीवन यापनमा सहजता आउने छ ।

तपाई पूर्व स्वास्थ्य मन्त्री भएको नाताले (कोभिड–१९) को महामारीलाई कसरी न्यूनीकरण गर्न सकिएला ?
सेल्फ क्वारेन्टाईन नै सावधानिको उत्तम उपाय हो । भिड्भाडमा जानु हुँदैन, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनु नै उत्तम सावधानि हो । यदि घर बाहिर निस्कनु परेमा सावधानिका साथ निस्कनु पर्छ । अहिलेको परिस्थितीमा पोसिलो तथा तरल पदार्थ बढि खानु पर्दछ । नियमित व्यायम गर्नु पर्दछ । आफ्नो स्वास्थ्यको ख्याल गर्दै समाजिक दुरी कायम राख्दै अत्यावस्यक काममा मात्र सहभागि हुनु पर्छ ।

अब सरकारले चेकजाचको दायरालाई बढाउनु पर्दछ । संक्रमणको शंका लागेका र बिदेशबाट आएका नागरिकहरु समुदायमा जानुपुर्व विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार क्वारेन्टाईनमा राख्नु पर्दछ । उनिहरुलाई पिसिआर चेक गरेर मात्र घर जान दिनुपर्दछ । जसले गर्दा समुदायलाई सुरक्षित राख्न सकेमा विश्वव्यापी संकट बनेको कोराना भाईरसबाट नागरिकलाई बचाउन सकिन्छ ।

अहिले सम्म नेपालमा कोराना भाईरस संक्रिमितबाट मात्र सरेको देखिएकाले संक्रमितलाई सुरक्षित राख्न सकेमा समुदायलाई जोगाउन सकिन्छ । यसतर्फ राज्य गम्भिर हुनुपर्दछ । स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन सरकारले प्याकेजमा सम्वोधन गर्नु पर्दछ । चिकित्सक जस्तो मर्यादित पेशालाई जोगाई राख्नको लागि सबै तह र तप्का सजग हुन जरुरी देखिन्छ ।

त्यसको लागि सर्वप्रथम स्वास्थ्य क्षेत्रलाई मर्यादित बनाउन जिम्मा लिएका स्वास्थ्य मन्त्रालय,स्वास्थ्य विभागमा कार्यरत उच्चपदस्थ अधिकारीहरुले जिम्मेवारी बहन गर्नुपर्दछ । तब मात्र स्वास्थ्य क्षेत्र मर्यादित हुनुको साथै मुलुकमा सरकार भएको अनुभव जनताले गर्ने छन् । सरकारले स्वास्थ्य क्षेत्रलाई राज्यको पहिलो प्राथमकितामा राख्नु पर्दछ । तब मात्र यो महामारीलाई न्यूनीकरण गर्न सजिलो हुने छ ।

सरकारले गरेको कार्य कत्तिको सन्तोषजनक छ त ?
सरकारले कोराना नियन्त्रणका लागि जति गर्नु पर्ने हो त्यति गर्न सकेको छैन । अहिले सरकार झण्डै दुई तिहाई बहुमतको छ । सम्पूर्ण राजनीतिक दल नागरिकले साथ दिएका छन यस्तो अवस्थामा पनि सरकार सानोतिनो कुरामा अलमलिएको छ । पार्टीको आन्तरिक कलहमा अलझीएको छ । मानव अस्तित्वसंग जोडिएको कोराना भाईरस नियन्त्रणमा गम्भिर भएको देखिदैन । सरकारले धेरै गर्न सक्छ तर गरेको छैन् ।

विपन्न तथा दैनिक ज्याला मजदुरी गरी परिवार पाल्नेलाई लकडाउन श्राप बनेको छ । काम गरी खाने वर्ग अहिले छट्पटीमा छ । यीनीहरुको समस्या समाधानमा सरकारले ध्यान दिएको छैन । अती विपन्न परिवारको तथ्याङ्क लिई चाहिने खाना र स्वास्थ्य परिक्षणको जिम्मा सरकारले लिनु पर्छ । यसो गर्न सक्यो भने मात्र समस्या समाधानमा सहजता हुने छ ।

कस्तो बिधि अपनाउदा कोराना संक्रमण हुनबाट बच्न सकिएला ?
कोरोना भाइरसबाट बच्ने अचुक उपाय सेल्फ क्वारेन्टाईन नै हो । नागरिकले आफ्नो स्वास्थ्यको ख्याल गर्दै सावधानि अपनाउनु पर्छ । विना काम कुनैपनि नागरिक घरदेखि बाहिर लखर लखर नहिडऔं । भिड्भाडमा नजाऔं, सामाजिक दुरी कायम गरी उच्च सर्तकता अपनाए कोरोना संक्रमण हुनबाट बच्न सकिन्छ ।

सरकारले कोराना परीक्षणको लागि ल्याएको किट प्रयाप्त छ त ?
सरकारको ध्यान कोराना परीक्षणका लागि जानु पर्ने हो तर गएको छैन । सरकारले ल्याएको कोराना परीक्षण किट पनि प्रयाप्त मात्रामा छैन । एक घर एक सदस्य परीक्षण अनिवार्य गर्नु पर्छ । परक्षिण किट प्रयाप्त मात्रामा ल्याउनु पर्थ्याे तर ल्याएको छैन् । यस विषयमा सरकारको ध्यान पुग्न जरुरी छ ।

सीमा नाकाहरुबाट भित्रिने नागरिकको सुरक्षाका लागि के गर्दा उपयुक्त हुन्छ ?
नेपाल आउने दाजुभाईको सुरक्षाका लागि व्यवस्थित क्वारेन्टाईन हुनु पर्छ । उनिहरुको अनिवार्य स्वास्थ्य परिक्षण गरिनु पर्छ । पिसिआर बिधिबाट परीक्षण गर्ने व्यवस्था सरकारले अनिवार्य गर्नु पर्छ । नाकाबाट भित्रिएका नागरिकको स्वास्थ्य र खानाको निःशुल्क व्यवस्था गर्नु पर्छ ।

कोरोना महामारी कै बीचमा नेपाल भारत सीमा विवाद उत्कर्षमा पुग्यो, भारतले बलमिच्याइ गरेर नेपाली भूमि अतिक्रमण गरेको छ कसरी सुल्झाउन सकिएला ?
नेपाल र भारतका बीच गहिरो ऐतिहासिक सम्बन्ध छ । यस सम्बन्धलाई प्रगाढ राख्दै नेपाल सरकारले आफ्नो भूमि रक्षाको लागि विज्ञ समुह गठन गरेको छ । आफ्ना ऐतिहासिक दस्तावेजको आधारमा कुटनीतिक वार्ताद्धारा समस्या सुल्झाउन सकिन्छ । नेपाली भूमि फिर्ता गर्नुको विकल्प छैन । अतिक्रमण गरेको नेपाली भूमि रत्तिभर छोड्नु हुदैन । सरकारले हिकमत गरेको छ । यसमा सबैले साथ दिनु पर्छ ।

तपाई राप्रपाको वरिष्ठ नेता हुनुहुन्छ कहिले फुट्ने कहिले जुट्ने गरेकाले पार्टीको सांगठनिक अवस्था कस्तो देख्नु हुन्छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टीको सांगठनिक अवस्था राम्रो छ । राप्रपा २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि मात्र स्थापना भएको पार्टी हो । राप्रपाले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका विषयलाई अंगाली रहेको छ । देशका ७७ जिल्लामा यसको सांगठनिक सरचना मजवुत छ ।

विद्यमान अन्यौलताले मुलुकलाई कतातिर धकेल्दै छ ?
विद्यमान राजनीतिलाई हेरेर आम विश्लेषण गर्न खोजियो भने त्योे अदूरदर्शीता हुन्छ जस्तो लाग्छ । भविष्य त्यति राम्रो देखिएको छैन । तापनि भविष्य प्रति हामी सबै सकारात्मक र आशावादी हुनु पर्दछ । मुलुकलाई शान्त र समुन्नत बनाउने कुरा जादुको छडी घुमाए जस्तो होइन । मुलुक निर्माणको लागि साँच्चिकै दूरदृष्टि भएका राजनेताहरुको खाँचो छ । अहिलेको मुलुक निर्माणको लागि एकमात्र अचुक अस्त्र सहमति, सहकार्य र एकता नै हो । यो भन्दा अर्को उपाय छ जस्तो मलाई लाग्दैन ।

राष्ट्रियताको सवालमा राप्रपाको नीति के छ ?
राप्रपाको मुल सिद्धान्त नै राष्ट्रियता हो । राष्ट्रियतामा नै राप्रपाको प्राण छ । यस सम्बन्धमा राप्रपाको नीति स्पष्ट छ । राष्ट्रियता नै सर्वोपरि हो ।

राप्रपा अहिले एक भएको छ भोलीका दिनहरुमा पार्टी पुन फुट्दैन भन्ने आधार के छ ?
विगतलाई हेर्ने हो भने पनि राप्रपाले सफलतापूर्वक मुलुकको नेतृत्व लिएको तपाई हामी माझ छर्लङ्ग छ । राप्रपा विगतको टुट्फुट्बाट आहत भएकाले अब पार्टी फुट्दैन भन्ने विश्वास हामीले लिएका छौं । पार्टीे टुट्फुट्बाट उत्पन्न पीडालाई थोर बहुत मलहमपट्टी गर्दै पार्टी एकीकरण भएको छ । अब हामीलाई जनताले सफत खुवाएका छन । हामी सच्चिएर आएका छौ । यसमा सवैलाई विश्वास गर्न आग्रह गर्दछु । अब पार्टी फुट्दैन यसमा म ढुक्क छु ।

तपाईहरु संंवैधानिक राजसंस्था र हिन्दु धर्म पुनःस्थापित हुनु पर्छ भन्दै हुनु हुन्छ यो सम्भव छ त ?
राप्रपाले हिन्दु राष्ट्रको माग गर्नु न्यायोचित छ । हामी प्राचीन संस्कृतिका परिपोषक र नविन उदारवादी राज्य व्यवस्थाका निर्माताको रुपमा उपस्थित भएका छौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र, उदारवाद, संवैधानिक राजसंस्था, बहुदलीय व्यवस्था र हिन्दु राष्ट्र हो । राप्रपाले जनताको चाहना अनुसार नै हिन्दु राष्ट्रको माग गरेको हो । राप्रपाले विगतदेखि नै हिन्दु राष्ट्र कायम गराउनलाई सडकदेखि सदनसम्म आवाज उठाउदै आएको छ ।

अब तपाई शुभेच्छुक तथा कार्यकर्तालाई के भन्नु हुन्छ ?
राष्ट्रियता, प्रजातन्त्र र उदारवादको संरक्षणको लागि सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक हुन जरुरी छ । राप्रपाको संगठन सुदृढीकरण अभियानमा सम्पूर्ण कार्यकर्ताहरुको साथ सहयोगको अपेक्षा लिएको छु । अहिले विश्व जगत कोभिड–१९ का कारण आक्रान्त बनेको छ । नेपाल पनि त्यसको चपेटामा छ । सबै सेल्फ क्वारेन्टाइनमा बसौं र यस विषम परिस्थितिमा एकले अर्कालाई सहयोग गरौं भन्न चाहन्छु ।

महत्वपूर्ण समय र विचारका लागि धन्यवाद ।
मलाई समसामयिक राजनैतिक विषय र कोभिड–१९ काे विषयमा मेरा विचार राख्ने सुअवसर दिनुभएकोमा तपाई लगायत कैलाश खबरको सम्पूर्ण टिमलाई धन्यबाद दिन्छु ।

@ ७ असार २०७७ – दिपक बोहरा, पूर्व स्वास्थ्य मन्त्री 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.