दोहा । गैर कानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै साउदीमा थप १५ हजारबढी आप्रवासी पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ३ सय २८ जना पक्राउ परेका हुन् ।
२२ देखि २८ डिसेम्बरसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको साउदीको गृह मन्त्रालयले जनाएको छ ।
पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ८ हजार ८ सय ८, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ४ हजार ३८ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ४ सय ८२ रहेका छन् ।
सीमा पार गर्न खोज्दा ५ सय ५२ व्यक्ति पक्राउ परेका थिए । ती सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुराएर देश निकाला गरिने साउदी सरकारले जनाएको छ ।
पछिल्लो समय साउदीले भिसाको म्याद सकिए पछि लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेको हो ।
त्यस क्रममा गैर कानुनी रूपमा बसेका सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गरिने जनाएको छ।
