काठमाडौं । राजधानीको राष्ट्रियसभा गृहमा आयोजित दुई पार्टीबीच एकता सम्पन्न भएको छ । राप्रपा र राप्रपा संयुक्तबीच फेरि एकता भएको हो । १० बुँदे समझदारी गरेर एकता गर्ने भनेका उनीहरुले बुधबार औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरेका हुन् ।
एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागी भएका थिए ।
एकता घोषणा भएपछि एकीकृत पार्टीको नाम राप्रपा नै हुने र एजेण्डा राजतन्त्र नै हुने राप्रपाका नेता कमल थापाले बताए । २०७३ मंसिरमा हलो चिन्ह भएको तत्कालीन राप्रपा र गाई चिन्ह भएको राप्रपा नेपाल मिलेर एकीकृत राप्रपा गठन भएको थियो ।
यसैबिच एकता घोषणासभालाई राप्रपा (सयुक्त)का नेता सुनिल थापाले बहिष्कार गरेका छन् । दुई राप्रपाबीचको एकता घोषणासभामा नेता सुनिल थापाले बहिष्कार गरेका हुन । पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका थापाले यसअघि रापपाका अन्य नेतासहित काँग्रेस प्रवेश गर्ने तयारी गरेको खबर सार्वजनिक भएको थियो ।