काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले मङ्गलवार म्याद थपका लागि अदालतमा पेस गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद प्राप्त भएको हो । यसअघि लिइएको म्याद सकिएपछि प्रहरीले आरोपित सबैजनालाई जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
अदालतले अनुमति दिएसँगै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित हिरासतमा रहेका १६ जना सबैको म्याद २ दिन थपिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहनेह अन्य व्यक्तिहरुमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, मोरङकै सागर थुलुङ राई, खाँणका तत्कालीन स्वीकय सचिव नरेन्द्र केसी, रायमाझीका छोरा सन्दीप, काठमाडौंका रामशरण केसी, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा र सुनसरीका गोविन्द चौधरी रहेका छन् ।
प्रहरीले यो प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन सकेर आरोपितमाथि अदालतमा मुद्दा दायर गर्नेछ । थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ ।
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहित १७ जना फरार रहेको भन्दै ३३ जनाविरुद्ध ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने रायसहित सोमवार प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ ।
