काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गर्नुअघि दुई घण्टा प्रश्नोत्तर गरेको संसदीय सुनुवाइ समितिले न्यायालयप्रति जनताको आस्था र विश्वास किन घट्दो छ ? भनेर प्रश्न सोध्यो । न्यायालयमा बिचौलिया हावी भएको जवाफ दिने क्रममा कार्कीले बताएका छन् ।
न्यायालयमा बिचौलियाको प्रभाव रहेको स्वीकार गरेका उनले समाधानका लागि विगतका अध्ययन, विद्यमान अभ्यास र आगामी कार्ययोजना समेत समितिसमक्ष प्रस्तुत गरे । सर्वोच्चले २९ साउन २०७७ मा कार्कीकै नेतृत्वमा न्यायपालिकाको विकृति, विसंगति, अनियमितता,
भ्रष्टाचार एवं बिचौलियाको चलखेलबारे अध्ययन गर्न समिति नै बनाएको थियो । १४ साउन २०७८ मा सर्वोच्च अदालतमा बुझाएको प्रतिवेदन समितिको प्रतिवेदनमा ‘न्यायाधीश नियुक्तिबाटै न्यायालयमा भ्रष्टाचार सुरु हुने र कतिपय न्यायाधीश नै बिचौलिया रहेको’ उल्लेख छ ।
कार्की नेतृत्वको समितिको प्रतिवेदनलाई समेत आधार बनाएर सांसदहरूले अदालतमा रहेको बेथितिका सम्बन्धमा प्रश्नहरू गरेका हुन् ।
