काठमाडौं । स्पेससुटमा खराबी आएपछि नासाले केही समयका लागि स्पेसवाकमा रोक लगाएको छ । अन्तरिक्षयात्रीहरूले प्रयोग गर्ने पोसाक अर्थात स्पेससुटमा केही समस्या आएपछि यस्तो रोक लगाइएको हो ।
अन्तरिक्षमा रहँदा अन्तरिक्षयात्रीहरू हेलमेट प्रयोग गरेर अन्तरिक्षयानबाट बाहिर गएर डुल्ने गर्छन् । यही गतिविधिलाई स्पेसवाक भनिन्छ । अन्तरिक्षयात्रीहरूको हेलमेटभित्र पानी चुहावट हुने समस्या आएपछि नासाले यो समस्या समाधान नहुँदासम्म अन्तरिक्ष यात्रामा रोक लगाउने घोषणा गरेको हो ।
मार्चमा एक्स्ट्रा भेकुलर एक्टिभिटिजको समयमा यो समस्या आएको थियो । स्पेसवाकको क्रममा हेलमेट पानीले भरिएको यो पहिलो घटना भने होइन । तर अन्तरिक्षयात्रीको लागि भने यो जीवन र मरणबीचको कुरा भएको वैज्ञानिकहरुले बताएका छन् ।
इन्टरनेसनल स्पेस स्टेसन (आईएसएसमा) को यात्रामा प्रयोग हुने स्पेससुटहरू पुरानो भएकाले अब प्रयोग गर्न लायक नभएको नासाले जिकिर गरेको छ । नासाले अहिले प्रयोग गर्ने स्पेससुटहरू ४० वर्षभन्दा पुरानो भइसकेका छन् भने पूर्ण रूपमा कार्यात्मक स्पेस सुटहरू सकिँदै गएको बताइएको छ ।
