भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसन बाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए ।

अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए । आरोहण टोलीका दुईजना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन्भने अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ । आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबुक’ मा लेखेका छन् । “सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो”, उनले सामाजिक सञ्जालमा लेखेका छन्,“अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरे, अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।”

वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ । अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गर्नुभएको थियो । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.