अवरुद्ध सडक वर्षदिनपछि खुल्यो

अवरुद्ध सडक वर्षदिनपछि खुल्यो

झापा । गत वर्ष कात्तिक ३ गते आएको बाढीले भत्काएको दमक–मोरङ उर्लाबारी सडक एक वर्षपछि मर्मत भई सञ्चालन भएको छ । २०७८ को कात्तिक ३ गते बेमौसमी वर्षापछि मावा खोलामा आएको बाढीले भत्काएको सडक एक वर्षपछि पुनः सञ्चालन भएको हो ।

दमकसँग मोरङको विराटनगरलाई जोड्ने सबैभन्दा छोटो सडक मर्मत भएपछि तरकारी, माछा र फलफूलको व्यापार गर्ने व्यापारीहरूलाई २२ किलोमिटर घुम्नुपर्ने बाध्यता हटेको छ । सडक मर्मत नहुँदा खासगरी फलफूल र माछा लिएर दमक जाने र फर्किंदा पहाडको तरकारी लिएर फर्किने व्यापारीहरू मर्कामा परेका थिए ।

अवरुद्ध सडक दमक नगरपालिका–१० र उर्लाबारी नगरपालिका–९ को पहलमा पुनः सञ्चालनमा ल्याइएको नरबहादुर मोक्तानले बताए । वडाध्यक्ष मोक्तानले भने, ‘बाढीले कटान गरी अवरुद्ध भएको स्थानमा आठ थान ह्युमपाइप राखेर ‘कजवे’ बनाइएको छ ताकि ठूलो बाढी आउँदा पानी ‘कजवे’ माथिबाट जान सकोस् । यो पनि अस्थायी समाधान मात्र हो।’

दमक–१० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले भने, ‘दुई जिल्ला र नगर जोड्ने पुल सडकहरू स्थानीय तहको जिम्मामा हुँदैनन् तर सङ्घ र प्रदेश सरकारले वास्ता नगरेपछि हामी छिमेकी नगरका दुई वडाले संयुक्त रूपमा सडक खुलाएका हौँ।’

 


Thali Mobile Pvt.Ltd.