भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित गरेको छ ।

कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन् । कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन् ।

यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उनले जानकारी दिए । कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि कामपाले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेर उक्त व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको हो ।

कामपाले कुन अस्पतालमा शय्या उपलब्ध छ ? र कुन सेवा प्राप्त गर्न सकिन्छ ? भनेर विस्तृत विवरण अनलाइनबाटै पाउन सकिनेगरी व्यवस्था गरिसकेको छ । निःशुल्क उपचार सेवा लिएकामध्ये केही निको भएर घर फर्किसकेका छन् भने केही उपचाररत रहेको कामपाले जानकारी दिएको छ । यसरी सेवा लिनेमा नाक, कान, घाँटी र मिर्गौलाका बिरामी बढी रहेका छन् । त्यस्तै दम, क्षयरोग छाती र आँखासम्बन्धी सेवा लिएका बिरामी रहेको पनि श्रेष्ठले जानकारी दिए ।

उपचार लिनका लागि समस्या भए वा थप जानकारी आवश्यक परेमा कामपाको स्वास्थ्य विभागमा वा कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिने श्रेष्ठले बताए ।

यसरी लिन सकिन्छ निशुल्क उपचार सेवा
सरकार-प्रदेश सरकार-स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात÷परिचयपत्र, त्यस्तै राष्ट्रिय परिचयपत्र÷नेपाली नागरिकता प्रमाणपत्र÷जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि र हालसालै खिचिएको फोटो, रोग पहिचान भएमा सोको कागजपत्र, सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची–४ अनुसारको सर्जमिन गरेको कागज र सम्बन्धित स्थानीय तहको वडा कार्यालयले उपचारको लागि अनुसूची–३ अनुसारको सिफारिस गरेको पत्र आवश्यक पर्ने बताइएको छ ।

बेवारिसे बिरामीको हकमा आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्योपचार निःशुल्क प्रदान गर्नुपर्नेछ । रासस

 


Thali Mobile Pvt.Ltd.