आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन, निर्वाचन चिह्न दिने तयारी

आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन, निर्वाचन चिह्न दिने तयारी

काठमाडौं । आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो । स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले नाम फिर्ता लिन चाहनेहरूका लागि बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने बताएको छ ।

नाम फिर्ता लिएपछि अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । ठूला राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रलगायत गठबन्धनले अपिल जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।

विपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बागी उम्मेदवारी दिएका नेताहरूलाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गरेका छन् ।

पार्टीले तय गरेका उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै ठाउँठाउँमा सत्ता गठबन्धनदेखि विपक्षी दल एमालेसहित दलका स्थानीय नेता कार्यकर्ताहरूले ११ र १२ वैशाखमा आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएका छन् ।

आधिकारिक उम्मेदवारलाई जिताउन चुनौती हुने दलहरूको ठम्याइ छ । सोही कारण सम्बन्धित दलका नेताहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिइरहेका हुन् ।

तोकिएको अवधिमा फिर्ता लिनेबाहेकका अन्तिम नामावली शुक्रबार नै प्रकाशन गरिने र त्यसपछि शनिबार निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.