काठमाडौं । आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको भनाइ अनुसार कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।
आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरिन्छ ।
आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
कतै जात्रा त कतै जमघट
नयाँ वर्षका अवसरमा कतै जात्रा लागेका छन् त कतै जमघट भइरहेका छन् । पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनको भिड लागेको छ ।
नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड लागेकोले विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए ।
भक्तजनको भीड बढेको हुनाले आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको उनको भनाई छ ।
पछिल्ला केही वर्षदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजन बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । पश्चिम मूलढोकामा विशेष सजावट गरिएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको कोषका संस्कृति महाशाखा प्रमुख पराजुलीले बताए ।
