भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

आलु उत्पादन घटेपछि किसान मर्कामा

आलु उत्पादन घटेपछि किसान मर्कामा

बागलुङ । गत वर्ष ४० मुरी आलु भित्र्याउनुभएका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाउन सक्नुभयो । बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम ठहरियो । तमानखोला गाउँपालिका–४ लाम्मेलाका छन्त्यालले भन्नुभयो, “अहिले आलु राम्रो फलेन, कसैलाई त बिउ जोगाउनै ठिक्क भयो ।” चार वर्षअघिसम्म आफूले ७० मुरीसम्म आलु उत्पादन गरेको छन्त्यालले सुनाउनुभयो । आलु कम फलेपछि यो वर्ष भाउ पनि महँगियो । शुरुमा एक पाथी आलु रु १०० मा बिके पनि पछि बढेर गाउँमै रु १५० सम्म पुग्यो । अधिक पानी परेका कारण आलुको उत्पादन घटेको वडाध्यक्ष उदिम छन्त्यालले बताउनुभयो ।

“अहिले ७० प्रतिशतसम्म आलु उत्पादन घट्यो, आलुमा निर्भर यहाँका किसान मर्कामा छन”, उहाँले भन्नुभयो । लाम्मेलाको मुख्य बाली नै आलु हो । आलु बेचेर किसानले बजारदेखि चामल र दैनिक उपभोग्य सामानको जोहो गर्छन् । किसानले आलुबाहेक मकै, कोदो, जौ, फापरको खेतीको गर्छन् । लाम्मेलामा धान फल्दैन । वडाध्यक्ष छन्त्यालका अनुसार लाम्मेलाका २५० घरमै आलु खेती हुन्छ । औसतमा हरेक घरमा वार्षिक १० क्विन्टलका दरले आलु फल्छ । सिङ्गै गाउँभरि गर्दा दुई हजार ५०० क्विन्टलभन्दा बढी आलु उत्पादन हुन्छ । दुई हजार ३०० मिटरको उचाइमा अवस्थित लाम्मेलामा फलेको आलु स्वादिष्ट र स्वस्थकर मानिन्छ । गाउँ भित्रिने अतिथि÷पाहुनालाई टक्र्याउने पहिलो परिकार पनि आलु नै हुन्छ ।

लाम्मेलाको आलु बिक्रीका लागि सदरमुकाम बागलुङ बजारलगायत टाढाका शहरी क्षेत्रसम्म पुग्छ । ठूला व्यापारीहरु गाउँमै पुगेर किसानबाट आलु खरिद गर्छन् । धेरै जग्गामा आलु लगाउने किसानले आलुबाटै भएको कमाइले घरधन्दा चलाउँछन् । उत्पादन बढेका बेला कुनै परिवारले त डेढ÷दुई लाखसम्म कमाउँछन् । बसाइँसराइ, श्रमशक्तिको विदेश पलायन इत्यादि कारणले पछिल्लो समय आलु खेती विस्तारै कम हुँदै गएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । “यो ठाउँ आलु बाली प्रशस्त हुने ठाउँ हो, अहिले सडक आएपछि बजारीकरणमा पनि कुनै समस्या छैन”, उहाँले भन्नुभयो । बेमौसममा समेत आलु बेच्नका लागि वडाले भण्डारण गृह बनाउने योजना बनाएको छ ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले छ वटै वडामा आलु खेती हुने गरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु ‘जोन’ कार्यक्रममा समावेश छ । उक्त परियोजनामार्फत गत वर्ष आलु किसानलाई कृषि सामग्री र औजार वितरण गरिएको थियो । यो वर्ष कृषि समूह निर्माण, बिउ वितरणलगायतका कार्यक्रम भइरहेको जनाइएको छ । “आधुनिक सीप र प्रविधि दिलाएर किसानलाई व्यावसायिक उत्पादनतिर लगाउने गाउँपालिकाको पनि योजना छ”, अध्यक्ष बुढाले भन्नुभयो । कृषि शाखाका प्राविधिक मोतीप्रसाद न्यौपानले चालु आवमा कृषिमा रु ३८ लाख बजेट छुट्टिएको बताउनुभयो । सेमी हाइटेक टनेल, प्लाष्टिक टनेल, मिनिटिलर हलो, मौरीपालन, ओखर, किवी, च्याउखेतीलगायतमा बजेट खर्च गरिने छ । ” रासस

 


Thali Mobile Pvt.Ltd.