काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीको उद्दार तथा सहजीकरहणको काम सरकारले सुरु गरेको छ ।एक विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयका प्रवक्ता सेवा लम्सालसहित ६ जनालाई सम्पर्क व्यक्ति तोकेर टेलिफोन नम्बर समेत उपलब्ध गराएको छ ।
सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ । यस्तै, इजरायलको तेल अबिवस्थित नेपाली राजदूतावासकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकिएको छ । सरकारले सम्बन्धित सम्पर्क व्यक्तिमार्फत इजरायल सरकारसँग समन्वय गरी विवरण संकलनका लागि अनलाई रजिष्ट्रेसनको व्यवस्था गर्दैछ ।
पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अबिवस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरण उपलब्ध गराइएकोले सम्बन्धित व्यक्ति मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन मन्त्रालयले आग्रह गरेको छ । हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ भने सरकारले मृतकको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको छ ।
