इयुको उडान सुरक्षा सूचीबाट नेपाल छिट्टै हट्दै

इयुको उडान सुरक्षा सूचीबाट नेपाल छिट्टै हट्दै

काठमाडौं । नेपाल युरोपेली संघ (इयु) को उडान सुरक्षासूची ‘एयर सेफ्टी लिस्ट’ बाट छिट्टै हट्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। नेपालको हवाई सुरक्षा परिपालना दर विश्वस्तरभन्दा माथि रहेकाले छिट्टै इयुको सेफ्टी लिस्टबाट हट्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विश्वास व्यक्त गरे।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले गरेको अडिट प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले अडिट प्रतिवेदनबाट उत्कृष्ट नतिजा आएकाले अब यो विषय लम्बिरहन नपर्ने जिकिर गरे ।

देशको हवाई सुरक्षा प्रणालीमा व्यापक सुधार आएको र इयुअन्तर्गतको प्राविधिक टोलीले पनि नेपालले हवाई सुरक्षामा उल्लेखनीय प्रगति गरेको प्रारम्भिक प्रतिवेदन दिएकाले सबै कारणले हेर्दा नेपाल सेफ्टी सूचीमा रहिरहनुपर्ने कारण नभएको कुरा इयुले बुझ्ने उनको भनाइ छ ।

इयुले सुरक्षासूचीमा राखे पनि नराखे पनि मुलुकको हवाई उड्डयन क्षेत्रको सुधारको काम निरन्तर चलिरहने महानिर्देशक अधिकारीले बताए । इयुको सुरक्षासूचीमा अब लामो समय नेपाल रहन सक्दैन ।

प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले आइकाओको अडिट प्रतिवेदनबाट नेपालले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै प्रतिवेदनले औंल्याएका कमीकमजोरी निर्मूल गर्न गृहकार्य सुरू गरिसकेको बताए । प्राधिकरणले आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशतले कायम गर्ने उद्देश्य रहेको बताए ।

अडिटपछि प्राधिकरणले कर्मचारी सरूवा नगर्ने निर्णय गरेको तथा प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलगै बजेट र जनशक्तिको व्यवस्था गरेको पनि उनले जानकारी दिए । उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्राधिकरणको सुरक्षा निर्देशनालयमा उपमहानिर्देशकको नेतृत्व रहनेछ ।

जसअन्तर्गत सेवा प्रदायक र नियमनकारी क्षेत्रमा कार्यरत कर्मचारीको एक अर्को क्षेत्रमा सरूवा नहुने व्यवस्था कार्यान्वयन गरिएको छ । गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिट गरेको थियो । आइकाओको १० सदस्यीय टोलीले हवाई सेवा प्रणालीका विभिन्न आठ क्षेत्रमा बृहत् अडिट गरेको थियो ।

जसमा नेपालले ७०.१ प्रतिशत उड्डयन सुरक्षा कायम गरेको छ। जुन विश्वको औसत दरभन्दा माथि भएको प्राधिकरणले जनाएको छ। नेपालले प्राप्त गरेको अंक एसिया प्रशान्त क्षेत्र र विश्वस्तरको भन्दामाथि रहेको प्राधिकरणको भनाइ छ।

एसिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४ दशमलव ५ र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत छ । हाल नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कूल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएको प्राधिकरणले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.