काठमाडौं । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा साधन श्रोतको परिचालन गरिनुका साथै खोज, उद्धार तथा राहत कार्य एकद्धार प्रणालीबाट गरिने भएको छ । गृहमन्त्रालयले साधनश्रोत परिचालन, खोज, उद्धार तथा राहतसामग्री वितरण जिल्ला विपद् व्यवस्थापन समितिमार्फत मात्रै परिचालन गर्ने निर्णय गरेको छ ।
अहिले पहिलो प्राथमिकता खोज, उद्धार कार्य रहेको जानकारी दिँदै मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अस्थायी पुनर्वास र राहत व्यवस्थापनमा सरकारले ध्यान दिएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थलगत अध्ययन, अवलोकन गरी पीडितसँग समेत भेटघाट गरिसकेको जानकारी दिदै उनको निर्देशन बमोजिम नै खोज, उद्धार र राहतलाई थप प्रभावकारी बनाइएको गृहले जनाएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा प्रमुखसहितको बैठकले खोज उद्धार र राहतलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको र सोही अनुसार सम्पूर्ण संयन्त्र परिचालित भएको उनको भनाइ छ ।
हालसम्म भूकम्पमा परेर १५७ जनाको मृत्यु भएको र ३७४ जना घाइते भएको मन्त्रालयले जनाएको छ । घाइतेको उपचार जारी छ।
कोषमा तत्काल ५–५ करोड रुपैयाँ उपलब्ध
यसैबीच सरकारले जाजरकोट, रुकुमपश्चिम जिल्लाको विपद् व्यवस्थापन कोषमा तत्काल ५–५ करोड रुपैयाँ उपलब्ध गराएको छ ।सोही रकममार्फत तत्कालिन राहत व्यवस्थापनको काम हुने जनाइएको छ ।
विभिन्न संघसंस्थाले दिने भनिएको रकम समेत सोही कोषमार्फत नै परिचालन हुने गृहले जनाएको छ । खोज तथा उद्धार एबं शव व्यवस्थापनमा विशेष तालिम प्राप्त टोली प्रभावित स्थलमा पठाइ सकिएको र आवश्यक कार्य जारी रहेको छ । भूकम्पका कारण अवरुद्ध सकड तत्काल खुलाउन आवश्यक व्यवस्था मिलाउन थालिएको छ ।
थप अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्रको टोली जाजरकोट र रुकुममा
भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली पनि जाजरकोट र रुकुम पुगेको छ ।भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो ।
टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए । केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिए ।
रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ । केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४ दशमलव ५, १२ः २९ बजे ४ दशमलव २, १२ः३५ बजे ४ दशमलव ३ र शनिबार दिउँसो ३ः४० बजे ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएको छ ।
