लुम्बिनी । मर्चवार क्षेत्रमा गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् । समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने योजना पूरा हुन सकेन ।
ज्येष्ठ नागरिक भत्ता र मेहनत मजदुरीबाट बचाएको रकम जम्मा गरेर उनीहरुले थोरै रकममा घर बनाइदिने प्रलोभन परि गुमाउन पुगेका छन् । ५४ हजार नगद बुझी लगेका व्यक्तिलाई खोज्दै गरेको पनि आठ महिना बितिसकेको छ । त्यसैगरी कोटहीमाई गाउँपालिका–१, सिपवाकी ६० वर्षीाय जमीरुन निसाको अनुहारमा कुनै चमक छैन ।
थोरै खर्चमा पक्की घर पाउने प्रलोभनमा फसेकी निसाले सम्मरीमाई–७ भैसागहनका मकसुद मुसलमानलाई चारकोठे पक्की भवन बनाइदिन दिएको एक लाख आठ हजार फिर्ता पाउने छाँटकाँट छैन । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारका प्रेमलाल कोहारको हाल पनि उस्तै हालत छ ।
गरिबीले जेलिएका कोहारले छिमेकीसँग एक लाख ५५ हजार ऋण लिएर मकसुदलाई बुझाएको बताउछन् । कोहारले मकसुदलाई बुझाएको सो रकमको न उनीसँग कुनै प्रमाण छ । आफु ठगिएको थाहा पाएपछि माया कुर्मीलगायतले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आवश्यक कारवाहीका लागि पठाइएको छ ।
