काठमाडौं । विहीबार बसेको प्रतिनिधिसभाको बैठकबाट नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् । बहुमत सांसदको समर्थनमा घिमिरे सभामुखमा निर्वाचित भएका हुन् । बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसद घिमिरे सभामुख निर्वाचित भएको घोषणा गरे ।
प्रतिनिधिसभा बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले सत्ता गठबन्धनका साझा उम्मेदवार घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तथा ३ स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।
यता नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवारको रुपमा अगाडी सारेको थियो । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।
बिहीवारको बैठकमा २६८ जना उपस्थित रहेकोमा १६७ जनाले घिमिरेको पक्षमा मतदान गरेका थिए भने विपक्षमा १०० र मत दिन्न भन्ने पक्षमा १ मत पर्यो ।
मंसिरमा भएको निर्वाचनमा घिमिरेले स्वतन्त्र सांसद स्वागत नेपाललाई पराजित गर्दै झापा– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
