काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही गर्न नसक्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै ओलीले भारत भ्रमणका बेला आफ्नो भूमि रक्षाका लागि प्रधानमन्त्रीले केही पनि बोल्न नसकेको, नेपालका नदिहरू भारतलाई सितैमा सुम्पेको, राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसक्ने आरोप लगाए ।
एमालेको सरकार परिवर्तन भएपनि दुई वर्षमा ८ प्रतिशत पुर्याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था आएको बताए । सरकारसँग विकासको कुनै योजना र स्रोत पनि नरहेको ओलीको आरोप छ ।
सरकारमा रहेका दलहरू एमालेको विरोधमा मात्रै लागेको भन्दै आफू नेतृत्वको सरकार ढाल्ने, पार्टी फुटाउने लगायतका अनेक षड्यन्त्र भएपनि एमाले जस्ताको तस्तै रहेको र आगामी निर्वाचनमा एमालेले देशका लागि बहुमत ल्याउने गरि तयारी गरेको बताए ।
