काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओली असक्षम, अनैतिक र भ्रष्ट भएको आरोप लगाएका छन् ।
घर झगडा, राष्ट्रिय राजनीति र सरकार सञ्चालन’बारे बुधबार लिखित धारणा सार्वजनिक गर्दै थापाले सरकारको नेतृत्व गर्न प्रधानमन्त्री ओली अयोग्य भइसकेको बताएका छन् । सचिवालय बैठकमा नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रस्ताव पेस गरेका थिए ।
प्रचण्डले लगाएका आरोपको समर्थन गर्दै थापाले भनेका छन्, ‘प्रधानमन्त्रीकै पार्टीभित्रबाट नेकपा अध्यक्ष प्रचण्डसहित अन्य दुई पूर्वप्रधानमन्त्री समेतका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालन गर्न अयोग्य मात्र होइन राज्य सञ्चालन र सुशासनका सन्दर्भमा प्रधानमन्त्रीको प्रवृत्ति र नियतमै गम्भीर प्रश्न उठाएका छन् ।
आफ्नै पार्टीको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री बनाएको व्यक्तिविरुद्ध उदाहरण सहित असक्षम र भ्रष्टाचारीलाई प्रोत्साहन र संरक्षण गरेको, राष्ट्रिय सुरक्षामा असंवेदनशिल भएको निष्कर्ष निकाल्नुले प्रधानमन्त्री ओली विरुद्धको विरोधको पछिल्लो शृङ्खलालाई विशेष बनाएको छ । यो संवेदनशील छ । थापाले भनेको छन् ।
