भक्तपुर औद्योगिक क्षेत्रका प्रदूषणयुक्त उद्योग उपत्यका बाहिर स्थानान्तरण गरिने

भक्तपुर औद्योगिक क्षेत्रका प्रदूषणयुक्त उद्योग उपत्यका बाहिर स्थानान्तरण गरिने

भक्तपुर । दम रोगीहरुको उपचारका लागि भक्तपुर नगरपालिकाले च्याम्हासिंहमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनको तयारी गरिरहेको जनाएको छ ।

नपाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले आयोजना गरेको विश्व दीर्घ दम खोकी दिवसको अवसरमा बुधबार अनलाइनमार्फत प्रवचन कार्यक्रम यस्तो जानकारी दिईएको हो। कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी कोभिड महामारीबीच पनि जनस्वास्थ्य सेवा केन्द्रले दैनिक ५०० को हाराहारीमा बिरामीहरुको उपचार गरिरहेको बताए ।

धुम्रपान, वायु प्रदूषण, धुँवा र रसायन प्रदूषण गर्ने उद्योग, परम्परागत पेशा आदिका कारण भक्तपुरमा दम रोगीहरुको संख्या दिनानुदिन बढिरहेको बताए ।

औद्योगिक क्षेत्रका प्रदूषणयुक्त उद्योग उपत्यका बाहिर स्थानान्तरण गरिने
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर औद्योगिक क्षेत्र भित्रका उद्योगले धुँवा, धुलो तथा रसायन प्रदूषण गर्ने कार्य गरिरहेकाले ति उद्योगहरु उपत्यका बाहिर स्थानान्तरण गर्न आवश्यक पहल भइरहेको जानकारी दिए । कार्यक्रममा उनले शिक्षक—कर्मचारीहरुले असल व्यवहार र नागरिक भावना विद्यार्थीहरुलाई सिकाउनुपर्ने भन्दै शिक्षकहरु सचेत, संगठित र अध्ययनशील हुनुपर्ने बताए ।

त्यस्तै वरिष्ठ दम रोग विशेषज्ञ डा. सन्तकुमार दासले दीर्घ दम रोगसम्बन्धी प्रस्तुतीकरण देखाउदै विश्वभरिमा ७ प्रतिशत मानिस दम खोकीको समस्या झेलीरहेको बताए । भक्तपुर नगरपालिकाभित्र १९ प्रतिशत मानिस दमको समस्या देखिएको भन्दै डा. दासले दम रोगको पहिचान समयमै हुन सके यसको नियन्त्रण र उपचार सम्भव भएको बताए ।

डा. दासले दीर्घ दम रोगीको जीवनयापनमा नकारात्मक असर पुग्नुका साथै आर्थिक नोक्सानी पनि हुने बताए । भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याउने श्वासप्रश्वास पुनःस्थापना केन्द्रबाट दम खोकीका रोगीहरु लाभान्वित हुने धारणा राखे । कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र प्रमुख रत्नसुन्दर लासिवाले दीर्घ दम रोगले सामाजिक र आर्थिक पक्षमा दीर्घकालीन असर पुग्ने हुँदा समयमै रोगको पहिचान गरी उपचार गर्नुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.