भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

कर्णाली नदीमा कटान तीव्र, टीकापुर नगरपालिकाका चार वडा खतरामा

कर्णाली नदीमा कटान तीव्र, टीकापुर नगरपालिकाका चार वडा खतरामा

टीकापुर । कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । शाहीपुरमा नदीले तीव्र कटान गरेपछि रोकथामका लागि तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । नदी कटान भएर बस्तीमा पसेमा नगरपालिकाका चार वडा खतरामा पर्ने देखिएको छ ।

नदी कटान भएमा वडा नं ५, ६, ७ र ८ का नागरिक प्रभावित हुनेछन् । सिँचाइ आयोजनाले छ वर्षअघि शाहीपुर क्षेत्रमा तटबन्ध बनाएको छ । गत वर्ष पनि सो तटबन्ध भत्किएपछि आयोजना, नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जैविक तटबन्ध गरेर बस्ती जोगाइएको थियो । आयोजनाले निर्माण गरेको ११ मिटर चौडाइको तटबन्ध नदीले कटान गर्दा गत वर्ष झण्डै दुई मिटर मात्रै बाँकी थियो ।

यस वर्ष पनि तटबन्ध निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गरिसकेको जनाएको छ । “तत्काल कटान शुरु भएपछि सोमबार सिँचाइ आयोजनाका प्राविधिकले निरीक्षण गरेका छन् । केही रोकथामका लागि स्थानीय सरकारले पहल गरेमा अस्थायी तटबन्ध गरेर बस्ती जोगाउन आयोजनाले सघाउने भनेको छ”, टीकापुर–५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारूले भन्नुभयो, “नदी कटान हुँदा कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ । नदी कटान तत्काल नरोके टीकापुर–५ को शाहीपुर र सिम्रेनी, ६ का केही भाग, ७ को सत्ती र ८ को धनसिंहपुर प्रभावित हुनेछन् । हजारौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुनेछ । क्षतिको अनुमान गर्नै सकिँदैन ।”

नदी कटान शुरु भएपछि वडाध्यक्षले सम्बन्धित निकायमा जानकारी गराएको बताउनुभएको छ । केही दिनअघि नगरपालिकाको विपद् समितिको बैठकले समेत कटानको जोखिम रहेका क्षेत्रमा जैविक तटबन्ध गर्ने निर्णय गरेको थियो । नगरप्रमुख तपेन्द्रबहादुर रावल नदीले धार परिवर्तन गरिरहेका कारण नदी कटान रोक्न निर्माण गरिएका तटबन्ध हरेक वर्ष भत्कन थालेको बताउनुहुन्छ । “हामीले आगामी दिनमा भौतिक संरचना बनाउँदा दिगोपनमा ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “अघिल्लो वर्ष बनाएका संरचना अर्को वर्ष नदीमा पानी बढ्दा बगेर जान थालेका छन् । यसले बस्ती थप जोखिममा पर्छ ।”

कर्णाली नदी कटानले टीकापुरको शाहीपुरमात्र होइन, वडा नं २, वडा नं ८ को श्रीलङ्का, सत्ती पुलसमेत जोखिममा छ । केही दिनअघि सत्ती पुलको बर्दियातर्फ कटान गरेपछि छ दिन अवरुद्ध भएको थियो । तत्कालका लागि अस्थायीरूपमा मर्मत गरेर पुल सञ्चालन भएको छ । स्थानीयवासी रुपेश बुढा सरकारले समयमै नदी नियन्त्रणका लागि दीर्घकालीन योजना अघि नसारे कैलाली र बर्दिया जिल्ला नदीकै कारण जोखिममा पर्ने बताउनुहुन्छ । “नदी कटानले बर्सेनि हजारौँ बिघा जमीन कटान हुने गरेको छ । नदी तटीय क्षेत्रका नागरिक बर्सेनि विस्थापित हुन थालेका छन्”, बुढाले भन्नुभयो, “यसले खेतीयोग्य जमीन बाँझो रहने गरेका छन् ।

नागरिक र धनजनको सुरक्षाका लागि समाधानतर्फ सबैको ध्यान जानुपर्छ ।”नदी तटीय क्षेत्रका नागरिक बर्सातको समयमा रातभरि सुत्न नसक्ने अवस्था आएको टीकापुर–५ शाहीपुरका गगनसिंह ठकुल्लाले बताउनुभयो । “नदी कटान शुरु भएपछि कतिखेर नदी गाउँ पस्छ भन्ने खतरामा नागरिक निदाउन सकेका छैनन्”, ठकुल्ला भन्नुहुन्छ, “त्रासमा बस्नेहरुको जीवन कस्तो होला । उनीहरुको स्वास्थ्य, रहनसहन बिग्रिएको छ । नदी नियन्त्रणका लागि पहल गरिदिन अनुरोध छ ।”

 


Thali Mobile Pvt.Ltd.