कैलाली । टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको छ ।
पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किए टीकापुर वडा नम्बर ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानको जोखिम्ममा पर्ने देखिएकोले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
कटान तीव्र भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टलगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको छ ।
नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने मुख्यमन्त्री शाहले बताए । नदी बस्तीमा पसे हजारौँ परिवारको क्षेती हुने भएकाले उद्धार गर्नुपर्ने उनको भनाइ छ । हजारौँ बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने जानकारी दिए ।
टीकापुर नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय गरेको छ ।
