काठमाडौं । अदालत खुलेपछि मात्र नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेसँग बयान हुने भएको छ । जाहेरी दर्ता भएको एक महिनापछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन्दीप पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरी वृत्त गौशालाको हिरासतमा उनलाई राखिएको छ । अमेरिका हुँदै कतारको दोहा ट्रान्जिट भएर बिहीबार बिहान पौने ११ बजे विमानस्थल अवतरण गरेलगत्तै उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो ।
लामिछानेले आफू अमेरिकाबाट कतार हुँदै आएको उल्लेख गरे । पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले आइतबार मात्रै अदालत खुल्ने वताइको छ ।
त्यसपछि लामिछानेलाई अदालत उपस्थित गराइनेछ । पक्राउलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराइसकेको छ । उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ ।
कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ । गत भदौ २१ गते एक युवतीले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् । भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।
केन्यासँग ट्वान्टी–२० पछि एकदिवसीय शृंखला पनि भएको थियो तर लामिछाने उक्त शृंखला नखेली क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बेस्ट इन्डिज पुगेका थिए ।
लामिछाने वेस्ट इन्डिजमै रहँदा भदौ २२ मा उनीविरुद्ध प्रहरीमा बलात्कार आरोपमा जाहेरी दर्ता भएको थियो । त्यसको भोलिपल्ट काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ ।
संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।
