काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइराला र देउवाबीच कडा प्रतिस्पर्धा भएको १४औं महाधिवेशनमा देउवालाई प्रभावशाली नेता प्रकाशमान सिंहले साथ दिएपछि सभापतिमा निर्वाचित भएका हुन् ।
मंगलबार भएको मतदानको मतगणना राति सवा ११ बजेदेखि सुरु हुँदा देउवाले लगातार अग्रता बढाउँदै लगेका थिए । दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो । प्रक्रियामा गएपछि राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो ।
सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेकोमा मंगलबार घटेर ४६२३ मत खसेको निर्वाचन समितिले जनाएको छ । काँग्रेसमा कुल मतदाता ४ हजार ७ सय ४३ जनामा बाँकी अनुपस्थित भएका थिए । देउवाको पक्षमा २ हजार ७ सय ३३ मत खस्दा कोइरालाको पक्षमा १ हजार ८ सय ५५ मत खसेको थियो ।
३५ मत भने बदर भएको थियो । प्रकाशमान, विमलेन्द्रलगायतको प्यानलले देउवालाई सहयोग गरेपछि फेरी कोइराला परिवार पराजित भएको छ । कांग्रेसमा सभापति पदको टुंगो लागेसँगै अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना सुरू हुने भएको छ।
आज दिउसोबाट १ तहको मतगणना हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए । केही समय शारीरिक रूपमा रेष्ट गरेपछि पदाधिकारीको मतगणना सुरू गर्ने उनको भनाइ छ । अन्य पदाधिकारीको मतगणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।
आगामी पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने घिमिरेले जानकारी दिए । गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिएको भन्दैसबैको मत परिणाम आएपछि मात्र विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने र सपथ खुवाउने कार्यक्रम रहेको नेपाली काँग्रेस निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको हो। सभापति पदमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मंगलबार पुनः मतदान भएको हो। बुधबार बिहान सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको हो।
एक सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मंसिर २४ गते भृकुटीमण्डपमा कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भएको थियो। मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदान केन्द्रको व्यवस्था मिलाइएको थियो ।
निकै रसाकसी भएको सभापति पदका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र कल्याणकुमार गुरुङबीच चुनावी भिडन्त भएको थियो । सभापतिमा देउवा आएसंगै सबैको ध्यान काँग्रेसमा केन्द्रीत भएको छ ।
