भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

कृषिमा नेपालकै लगानी आवश्यक

कृषिमा नेपालकै लगानी आवश्यक

नेपालको उत्पादनले नेपालीहरुलाई खुवाउन पुगेको छैन । गत आर्थिक बर्ष २०७६÷७७ मा मात्रै दुई अर्ब तेह्र करोडभन्दा बढीको कृषि वस्तु आयात गरेकोमा त्रियासी करोडको मात्र निर्यात गरेको थियो । यस्तो व्यापार घाटाको स्थितिमा नेपालको उत्पादन र उत्पादकत्व बढाउनु आवश्यक छ । विदेशी लगानीले रोजगारी, प्रविधि आदि त वढ्ला तर नेपालको आफ्नै लगानीबाट यो सबै भएमा आत्मगौरवको अनुभूति हुनेछ । यसको लागि नेपाली पूँजीपति वर्गलाई नेपालमै लगानी गर्न प्राथमिकता दिइनुपर्दछ । आर्थिक रुपमा आत्मनिर्भर हुन व्यवस्थित योजना बनाएर अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।

पृष्ठभूमि
कृषिमा वैदेशिक लगानीको लागि ढोका खोल्ने विषय बहसको विषय बनेको छ । नेपालको मन्त्री परिषद्को बैठकले निर्णय गरेसँगै त्यस सम्बन्धि ऐनलाई संशोधन गरेर २०७७ पुष २० गते राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । यो विषयमा कृषि क्षेत्रमा धेरै पक्षले प्रायशः नकारात्मक प्रतिक्रिया दिएको पाइन्छ । २०७५ चैत्रमा आएको नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले कृषिमा विदेशी लगानी पूर्णतः बन्देज गरेको थियो ।

नयाँ निर्णयअनुसार पशुपन्छी, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित ठूला उद्योगमा विदेशी लगानी गर्न पाउने गरी र आफ्नो उत्पादनको कम्तीमा ७५ प्रतिशत निकासी गर्ने र बाँकि २५ प्रतिशत नेपालमै बेच्ने प्रावधान राखिएको छ । यसकारण अनेक प्रश्न उठेका छन् । नेपाली कृषकको अवस्था के हुन्छ ? कृषिमा नेपालीले गरेको लगानीमा कस्तो असर पर्छ ? कृषिमा आत्मनिर्भरता अब सम्भव हो ? आदि ।

प्रविधि फैलावट
कृषिमा विज्ञान र प्रविधिको महत्वपूर्ण भूमिका हुन्छ । कृषि वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु नै प्राथमिक पक्ष हुन्छ । यसका लागि उन्नत जातको बीउविजन, सिंचाई, रासायनिक र प्राङ्गारिक मल, कृषि सडक, यान्त्रीकरणलगायतका कृषि पूर्वाधारको व्यवस्थापन हुनु जरुरी हुन्छ । यो सँगसँगै व्यवस्थित अनुसन्धान र उपलब्धिको प्रयोग आवश्यकता रहन्छ । विदेशी पूँजी देशमा भित्रिदा त्यससँग सम्बन्धित प्रविधि पनि सँगसँगै भित्रिने हल्ला धेरै गरिएको छ । तर, वर्तमान विज्ञान र प्रविधिको युगमा सरकारले चाहेको खण्डमा यी सबै प्रविधि सजिलै आयात गर्न वा नेपालमै विकास गर्न सकिन्छ । विदेशी लगानी भएमा मात्र कृषिका प्रविधि, बीउविजन, मेसिन आदि भित्रिन्छन् भन्ने गलत अवधारणा त्याग्न जरुरी छ ।

सरकारले अनुसन्धानलाई विशेष प्राथमिकता दिन सकेमा देशभित्रको परम्परागत ज्ञानलाई विकास गर्न सकिन्छ । नेपाली विषयविज्ञ युवा पुस्ताको विदेश पलायनले पनि सरकारले आवश्यक मञ्च प्रदान गर्न नसकेको प्रष्ट हुन्छ । अनुसन्धान केन्द्रहरुको विस्तार गरी बौद्धिक वर्गलाई नेपालमै टिकाइराख्नु पर्दछ ।

उत्पादन बढ्नु आत्मनिर्भर हुनु होइन
कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि हुँदा त्यसको कारोबार रकम बढ्दै जान्छ वा अर्थतन्त्र ठूलो हुन्छ । पूँजीमा वृद्धि हुन्छ । कृषि वस्तुको उत्पादन वा यसको प्रशोधित वस्तुको व्यापारबाट हुने रकम कता जान्छ भन्ने मूल प्रश्न हो । यो सामान्य प्रश्न हो । नेपाली नागरिकले नेपालमा लगानी गरेमा त्यसको नाफा नेपालमै रहन्छ । अर्थात् पूँजीसँगै नाफा पनि नेपालको अर्थतन्त्रमा चलाएमान हुन्छ । विदेशी नागरिकले नेपालमा लगानी गरेको त्यो पूँजी नेपाली अर्थतन्त्रमा चलाएमान त हुन्छ तर अधिकांश भाग अर्थात् नाफाको भाग ढिलो वा चाँडो विदेश जान्छ ।

नेपालको पूँजी लगानीले नेपालको जनसङ्ख्यालाई पुग्ने गरी खाद्य सामग्री उत्पादन गर्न सक्नु नै आत्मनिर्भरता हो । विदेशीले गरेको लगानीका कारण भएको पुग्दो उत्पादनको क्षणिक परिस्थितिलाई आत्मनिर्भताको परिभाषा दिइनु हुन्न । विदेशी पूँजीको भरमा गरिएको लगानीमा पुर्ण विश्वस्त हुनु डरलाग्दो हुन जान्छ । लगानी गरेको पूँजीले हात झिकेमा त्यसबाट नोक्सान त पक्कै हुन्छ । यसर्थ, बरु नेपालका राष्ट्रिय पूँजीपति वर्गलाई आफ्नै देशभित्र लगानी गर्न प्रोत्साहन गरिनु राम्रो हुन्छ । यस्तो भएको खण्डमा पूँजी नेपालको अर्थतन्त्र ठूलो र दीगो बनाउन मद्दत पुग्छ ।

कृषिमा आधुनिकीकरण र व्यवसायिक बनाउन सकेमा उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ । नेपालको हावापानी सुहाउँदो थुप्रै जडिबुटी, फलफूल, तरकारी, पशुजन्य वस्तु, आदिको प्रशस्त उत्पादन गर्ने र प्रशोधन गर्नु आवश्यक छ । अन्तर्राष्ट्रिय बजारमा यी वस्तुको निर्यात गर्न सक्ने धेरै सम्भाव्यता नभएको होइन । यसरी देशको आम्दानीलाई मजबुट बनाउन सकिन्छ । सरकारले प्राथमिकतामा राखेर काम गरेमा यो सम्भव छ ।

नेपालमा लगानी किन ?
नेपालमा अशिक्षा र बेरोजगारी दर व्यापक छ । नेपाली कामदारको ज्यालादारी निकै कम छ । सस्तो ज्यामीको रुपमा नेपालीलाई प्रयोग गर्ने विदेशी लगानीकर्ताको पहिलो उद्देश्य हो । कोभिड–१९ रोगका कारण विदेशमा कार्यरत लाखौं युवाहरु बेरोजगारको समस्या झेलिरहेका छन् । केहि लाख युवाहरु मात्र नेपाल फर्केमा तिनीहरु पनि बेरोजगार रहने प्रवल सम्भावना रहन्छ । नेपालले पनि यो समस्या सम्बोधन गर्ने कुनै योजना बनेको सुन्नमा आएको छैन ।

विदेशी लगानीकर्ताले यसको फाइदा पक्कै उठाउने छन् । सरकार रोजगारी सिर्जना गर्न सकेको छैन । योजना पनि देखिन्न । सम्भवतः कोभिडका कारण फर्केका युवाहरुले रोजगारीको माग गर्ने सम्भावना देखेर नै विदेशी लगानीको विषय प्रवेश भएको हुनुपर्छ ।

दोस्रो, नेपालको बजारमा आफ्नो प्रभुत्व जमाउनु । नेपाली जनतालाई पुग्ने उत्पादन नेपालले गर्न सकेको छैन । विदेशी आयातले नेपाली बजारको अभावको आपूर्ति गरिरहेको छ । विदेशी उत्पादन विदेशबाट ल्याउनुभन्दा नेपालमै उत्पादन, प्रशोधन र विक्री गर्दा सस्तो पर्ने हुन सक्छ । यसको लागि ठूलो लगानी र प्रविधिको आवश्यकता रहन्छ ।

विदेशी लगानी ठूलो पूँजीको हुन्छ । नेपालको सानो पूँजीको उत्पादनले ठूलो पूँजीसँग प्रतिस्पर्धा गर्न असमर्थ हुने र अन्तिममा सानो पूँजी बाहिरिने सम्भावना हुन्छ । यसरी, नेपालको सम्पूर्ण अर्थतन्त्र विदेशी पूँजीमा निर्भर हुने र बजारमा विदेशी भाग बढी हुन जान्छ ।

तस्रो, कृषि र कृषि उद्योगसम्बन्धि धेरै अनुसन्धानका कार्यहरु पनि सँगसँगै अगाडि बढ्छ । अनुसन्धानको उपलब्धिमा बौद्धिक अधिकार (प्याटेन्ट अधिकार) कसको हुने भन्ने प्रश्न उठ्छ । अनुसन्धानमा जसले लगानी गरेको हुन्छ त्यही व्यक्ति वा संस्था प्याटेन्ट अधिकारको हकदाबी गर्छ ।

नेपालको परम्परागत शीप र ज्ञानलाई वैज्ञानिक तवरले लिपिबद्ध गर्न सकिएको देखिन्न । यसलाई विश्वविद्यालय र अनुसन्धान केन्द्रहरुसँग मिलान अगाडि बढ्नु राम्रो हुन्छ । ठूलो लगानी भएका विदेशीले अनुसन्धान फाँटमा के नेपालीलाई राख्ला ? नेपालीलाई राखे पनि लगानीकर्ता व्यक्ति वा संस्थाले हक जमाउनेछ । नेपालको अनुसन्धान पक्ष कति सक्षम छ ? के अनुसन्धानबाट प्राप्त उपलब्धिमा नेपालले हक अधिकार लिन सक्ला ? यस विषयमा समयमै सोच्न आवश्यक छ ।
चौथो, नेपालको कृषि परम्परागत औजारले धानिरहेको छ ।

विदेशी लगानी भित्रिएमा ठूल–ठूला मेशिनहरु पनि प्रयोगमा आउने र उत्पादनमा व्यापक वृद्धि हुने भनिएको छ । सरकारले कृषिलाई आधुनिक र व्यवसायिक बनाउने कुरा ग¥यो तर व्यवहारमा हुन नसक्दा विदेशी लगानीकर्तालाई फाइदा पुगेको छ ।

निष्कर्ष
नेपालको उत्पादनले नेपालीहरुलाई खुवाउन पुगेको छैन । गत आर्थिक बर्ष २०७६÷७७ मा मात्रै दुई अर्ब तेह्र करोडभन्दा बढीको कृषि वस्तु आयात गरेकोमा त्रियासी करोडको मात्र निर्यात गरेको थियो । यस्तो व्यापार घाटाको स्थितिमा नेपालको उत्पादन र उत्पादकत्व बढाउनु आवश्यक छ । विदेशी लगानीले रोजगारी, प्रविधि आदि त वढ्ला तर नेपालको आफ्नै लगानीबाट यो सबै भएमा आत्मगौरवको अनुभूति हुनेछ । यसको लागि नेपाली पूँजीपति वर्गलाई नेपालमै लगानी गर्न प्राथमिकता दिइनुपर्दछ । आर्थिक रुपमा आत्मनिर्भर हुन व्यवस्थित योजना बनाएर अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।

 


Thali Mobile Pvt.Ltd.