काठमाडौं, २६ भदौ । नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ । उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्र विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाइमा पर्न थालेको छ । आर्थिक वर्ष २०८२/८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट नेपालमा ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उक्त अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने १ हजार ११६ वटा परियोजनाका लागि विदेशी लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । तीमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै ७२७ वटा परियोजना रहेका छन् । परियोजनाको संख्याका आधारमा हेर्दा सूचना प्रविधि क्षेत्र अन्य क्षेत्रभन्दा निकै अगाडि देखिएको छ । यसले नेपालमा सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको रुचि उल्लेख्य रूपमा बढेको देखाएको छ ।
विभागका अनुसार सो अवधिमा उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामूलक क्षेत्रमा चार, कृषिमूलक क्षेत्रमा १८, पर्यटन क्षेत्रमा २२७, खनिज क्षेत्रमा चार, सेवामूलक क्षेत्रमा ७१ र पूर्वाधारमूलक क्षेत्रमा दुईवटा परियोजनाका लागि विदेशी लगानी प्रतिबद्धता आएको छ ।
नेपालमा दक्ष जनशक्ति उपलब्ध हुनु, सूचना प्रविधिमा आधारित सेवा तथा व्यवसायको विस्तार हुनुका साथै तुलनात्मक रूपमा कम पूर्वाधारबाट पनि सूचना प्रविधिसम्बन्धी व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यस क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको बताइएको छ । यसअघि आर्थिक वर्ष २०८१/८२ मा विभिन्न ८४२ वटा परियोजनाका लागि ६४ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा लगानी प्रतिबद्धताको कुल रकम केही घटेको भए पनि परियोजनाको संख्या भने उल्लेख्य रूपमा बढेको देखिन्छ । उद्योग विभागका अनुसार नेपालमा राजनीतिक स्थायित्व, लगानीको सुरक्षा र सरल नीतिगत व्यवस्थाका कारण विदेशी लगानीकर्ताको विश्वास बढ्दै गएको छ ।
सूचना प्रविधिमा आधारित व्यवसाय विस्तार हुँदै जानु तथा दक्ष जनशक्तिको उपलब्धताले पनि नेपाललाई विदेशी लगानीका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुगेको विभागको भनाइ छ ।
