भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ

सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ

मुख्य बुँदा

पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणाको रोकिएको पेन्सनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि निवृत्तिभरण रोकिएको भन्दै राणाले रिट दायर गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रपछि राणाको पेन्सन रोकिएको थियो ।

यसअघि सर्वोच्चले अख्तियारको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

सुडान शान्ति मिसनका लागि प्रहरीलाई आवश्यक सामान खरिदमा भएको भनिएको घोटाला प्रकरणमा राणासहित केही अधिकारी दोषी ठहर भएका थिए ।

विशेष अदालतले राणालाई दुई वर्ष कैद र जरिवानाको फैसला गरेको थियो ।

सर्वोच्च अदालतले पछि कैद सजाय सदर गर्दै जरिवाना घटाएर ५० हजार रुपैयाँ कायम गरेको थियो ।

काठमाडौं, २५ भदौ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणाको रोकिएको पेन्सनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि निवृत्तिभरण रोकिएको भन्दै राणाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय नृपध्वज निरौला र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।

यसअघि न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजिज मुसलमानको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राणाको पेन्सन रोक्न लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

सुडानमा शान्ति मिसनका लागि खटिने नेपाल प्रहरीको बन्दोबस्तीका सामान खरिदसम्बन्धी सम्झौतामा अनियमितता भएको ठहर भएपछि अख्तियारले राणालाई निवृत्तिभरण उपलब्ध नगराउन निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई पत्राचार गरेको थियो । त्यसपछि पेन्सन रोकिएपछि राणाले २०८१ साउन १८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

राणाकै कार्यकालमा सुडान शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिद गर्ने सम्झौता भएको थियो । उक्त खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालत र सर्वोच्च अदालतले राणासहित केही अधिकारीलाई दोषी ठहर गरिसकेका छन् ।

विशेष अदालतले २०६८ चैत १ गते फैसला गर्दै राणासहित केही प्रहरी अधिकारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । विशेष अदालतले राणालाई दुई वर्ष कैद र १७ करोड ६ लाख ८ सय २४ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले २०७४ वैशाख १७ गते उक्त मुद्दामा अन्तिम फैसला सुनाएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले राणासहित केही अधिकारीलाई दोषी ठहर गर्दै विशेष अदालतले गरेको दुई वर्ष कैदको फैसला सदर गरेको थियो । तर जरिवानाको हकमा भने सर्वोच्चले विशेष अदालतको फैसला संशोधन गर्दै ५० हजार रुपैयाँ कायम गरेको थियो ।

यही भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको आधारमा पेन्सन रोक्ने अख्तियारको निर्णयविरुद्ध राणाले दायर गरेको रिट अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । उक्त रिटमा हुने सुनुवाइबाट रोकिएको निवृत्तिभरणसम्बन्धी विवादको कानुनी पक्ष टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.