रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला नाका चीनसँगको वैकल्पिक व्यापारिक मार्गका रूपमा चलायमान बनेको छ ।
चीनबाट नेपाल भित्रिने मालवस्तु तथा विद्युतीय सवारीसाधनको चाप कोरला नाकातर्फ बढेको छ ।
केही वर्षअघिसम्म स्थानीयको दैनिक उपभोग्य सामग्री खरिद गर्ने नाकाका रूपमा सीमित कोरला अहिले व्यापारिक नाकाका रूपमा विस्तार हुँदै गएको छ ।
गत वर्ष बाढी, पहिरो र नदी कटानका कारण तातोपानी र रसुवागढी नाका प्रभावित भएपछि कोरलाको व्यापारिक गतिविधि बढेको हो ।
भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवागढी नाका पूर्ण रूपमा बन्द हुँदा कोरला नाकामा थप चाप परेको छ ।
केरुङमा रोकिएका १७६ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ डाइभर्ट गरिएको छ ।
कोरला नाका हुँदै मालवस्तु र विद्युतीय सवारीसाधनको आयात–निर्यात क्रमशः बढिरहेको छ ।
काठमाडौं, २५ भदौ । रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन व्यापारका लागि उत्तरी कोरला नाका चलायमान बन्न थालेको छ ।चीनबाट नेपाल भित्रिने मालवस्तु तथा विद्युतीय सवारीसाधनको चाप पछिल्लो समय कोरला नाकातर्फ बढेको हो ।
केही वर्षअघिसम्म उपल्लो मुस्ताङका नागरिकले दैनिक उपभोग्य सामग्री खरिद गर्ने नाकाका रूपमा सीमित रहेको कोरला अहिले चीनसँगको व्यापारका लागि महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा विस्तार हुँदै गएको छ ।
कोभिड–१९ महामारीका कारण करिब चार वर्ष बन्द रहेको कोरला नाका २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुला गरिएको थियो ।
त्यसपछि तल्लो मुस्ताङका नागरिकलाई समेत सीमापार पास उपलब्ध गराइएपछि नेचुङ–लिजी आवतजावत सहज बनेको थियो । यद्यपि नाका नियमित रूपमा खुले पनि सुरुवाती चरणमा व्यापारिक गतिविधि भने सीमित थियो ।
स्थानीय नागरिकले चीनको लिजी हाटबजारबाट घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य वस्तु खरिद गरेर ल्याउने गरे पनि ठूलो परिमाणमा मालवस्तुको आयात–निर्यात हुने गरेको थिएन ।
त्यस समयमा मुस्ताङ भन्सार कार्यालयले वार्षिक रूपमा करिब १० देखि १५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको थियो । तर पछिल्लो एक वर्षमा कोरला नाकाको व्यापारिक गतिविधिमा उल्लेख्य परिवर्तन आएको छ । गत वर्ष असार र भदौमा आएको बाढी, पहिरो तथा नदी कटानका कारण तातोपानी र रसुवागढी नाका प्रभावित भएपछि चीनसँगको व्यापारका लागि वैकल्पिक मार्गका रूपमा कोरला नाकाको प्रयोग बढ्न थालेको हो ।
व्यापारिक गतिविधि बढेसँगै कोरला नाकामा भन्सार कर्मचारीसमेत थप गरिएको थियो । त्यसपछि चीनबाट आउने मालवस्तुको आयात–निर्यातको परिमाण पनि बढ्दै गएको छ । अहिले कोरला नाका तथा मुस्ताङ भन्सार कार्यालयमा मालवाहक कन्टेनर र विद्युतीय सवारीसाधनको चाप देखिन थालेको छ । यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकामा थप चाप परेको हो ।
तातोपानी नाका पनि नियमित रूपमा सञ्चालनमा आउन नसकेपछि चीनबाट नेपाल भित्रिने मालवस्तुका लागि कोरला प्रमुख वैकल्पिक नाकाका रूपमा प्रयोग भइरहेको छ । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवागढी नाका बन्द भएपछि केरुङमा रोकिएका १७६ वटा मालवाहक कन्टेनरलाई कोरला नाकातर्फ डाइभर्ट गरिएको छ ।
तीमध्ये केही कन्टेनर कोरला नाकासम्म आइपुगेका छन् भने बाँकी कन्टेनर पनि क्रमशः आउने क्रममा छन् । यससँगै कोरला नाकामा व्यापारिक गतिविधि थप बढ्ने देखिएको छ ।
