काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराबाट तीन पटक पराजित भएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई न्याय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले नै आग्रह गरेका छन् । गठबन्धनका तर्फबाट कञ्चनपुरमा चुनाव लड्ने तयारी गरेपछि भट्टलाई न्याय गर्न आग्रह गरेका हुन् ।
देउवा डढेलधुरबाट चुनाव लड्ने पक्का भएपछि भट्ट कञ्चनपुर क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने तयारीमा छन् । देउवा आफैँले पार्टीका सुदूरपश्चिम नेता कार्यकर्तासँगको एक भेटमा माओवादी नेता भट्टलाई सुदूरपश्चिमका जुनसुकै जिल्लाबाट चुनाव लडाएर भए पनि संसद्मा ल्याउने बताए ।
देउवाले भने, ‘खगराजजी मसँग लडेरै तीन पटक हार्नुभयो । यो पटक मैले न्याय गर्नुपर्छ । कैलाली वा कञ्चनपुरको कुनै एक क्षेत्रबाट सहयोग गरेर संसद्मा ल्याउनुपर्छ भन्ने सोचेको छु ।’ माओवादी नेता भट्टले देउवाको आशय बुझेरै कञ्चनपुर २ बाटै चुनाव लड्ने तयारी थालेको अभिव्यक्ति दिएका छन् ।
पहिलो संविधान सभा निर्वाचनमा देउवासँग १ हजार ३ सय ६८ मतले हारेका उनले १९ हजार १ सय ६१ मत ल्याएका थिए । अब हुने चुनावमा देउवा डडेलधुराबाट चुनाव लड्ने भएपछि भट्टलाई कैलाली क्षेत्र चारबाट चुनाव लडाउने र लेखराज भट्टको क्षेत्रमा खगराज भट्टलाई लडाएर जिताउने तयारी उनीहरुले थालेका छन् ।
