खेलाडीलाई जीवन निर्वाह गर्न मुस्किल

खेलाडीलाई जीवन निर्वाह गर्न मुस्किल

काठमाडाैं । सुदुरपश्चिमका लागि भलिबलका खेलाडी महेश खत्रीको नाम नौलो होइन । यहाँ हुने जुनसुकै भलिबल प्रतियोगितामा पनि उहाँको नाम चर्चामा आउँछ । दुईवर्ष सुदूरपश्चिम भलिबल टोलीमा कप्तानको भूमिका निर्वाह गरिसक्नु भएका महेश अहिले आफ्नो भविष्यप्रति चिन्तित हुनुहुन्छ ।

खेलाडीलाई राज्यबाट गरिने संरक्षणमा कुनै सहयोग नहुँदा भविष्य अन्योलमा रहेको उहाँ बताउनुहुन्छ । “चौध वर्षको उमेरदेखि भलिबल खेल खल्न सुरु गरियो । नेपालमा मात्रै नभइ भारतका थुप्रै सहरमा भलिबल खेल्ने अवसर पाएँ ।” महेश भन्नुहुन्छ, “उर्जावान् समय सकिँदै जाँदा चिन्ता बढ्दै गएको छ । चाहेर अन्य काम गर्न सक्ने स्थिति नहुनु र राज्यबाट पनि कुनै संरक्षण नहुँदा जीवन अन्योलमा छ ।” बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–७ मा जन्मिनुभएका उहाँ भौगोलिक विकटताका कारण पनि राम्रा खेलाडी अवसरबाट वञ्चित हुँदै आएको गुनासो गर्नुहुन्छ ।

महेशका अनुसार सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को गठनपछि खेलाडीलाई खेल क्षेत्रको विकासमा आशा जागेको छ । “खेलकुद परिषद्ले खेल र खेलाडीको मर्म बुझेको छ । हिजोका खेलकुद गतिविधिलाई हेर्दा आज खेलकुदका गतिविधिमा परिषद्ले केही भूमिका निर्वाह गर्न थालेको छ, ” उहाँ भन्नुहुन्छ, “आशा जागेको छ । सन्तुष्ट हुने वातावरण भने बनिसकेको छैन । खेलाडी उत्पादन र उत्पादन भएका खेलाडीको संरक्षण हुन जरुरी छ ।”

डडेल्धुरास्थित जोगबुडाका सुरेन्द्र बम दुई पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुनुभयो । उहाँले बङ्गलादेशमा भएको भलिबल प्रतियोगितामा सहभागिता जनाउनु भएको थियो । तीनवर्ष एपिएफको राष्ट्रिय टोलीबाट भलिबल खेल्नुभएका उहाँ सुदूरपश्चिम प्रदेशको टोलीबाट भलिबल खेल्नुहुन्थ्यो । भलिबलका लागि निकै चर्चित सुरेन्द्र १८ वर्षको उमेरदेखि भलिबल प्रतियोगितामा सहभागी भएको बताउनुहुन्छ । “कुनै बेला लाग्थ्यो मेरो शरीरको नशामा पनि भलिबल छ । भलिबल भनेपछि खाना नै खान मनलाग्दैन थियो, ” सुरेन्द्र भन्नुहुन्छ, “समय बित्दै जाँदा विभिन्न समस्याले घेराबन्दी गर्न थालेपछि अहिले पछुतो पनि लाग्छ ।”

खेलाडीका लागि नेपालमा उचित वातावरण बन्न नसकेकै कारण कैयौँं खेलाडी पलायन भएकाले राम्रा खेलाडीलाई राज्यले राम्रो पारिश्रमिक दिएर व्यवस्थापन गर्न आवश्यक रहेकामा उहाँ जोड दिनुहुन्छ । “प्रतियोगिता हुँदैनन् । प्रतियोगिता भए पनि खेलाडीको पारिश्रमिक सुनिश्चित हुँदैन ।

कतिपय प्रतियोगितामा आयोजकले तोकेको पुरस्कार नदिएका उदाहरण पनि छन् ।“सुरेन्द्र भन्नुहुन्छ, “सयम बित्दै गएको छ । परिवारलाई खुसी बनाउन सकिएको छैन । खेल्न छोडाँै भने अन्य सीप आफूसँग छैन ।”
कैलालीको जानकी गाउँपालिकाका विष्णु भाट पनि भलिबलका लागि चर्चित हुनुहुन्छ । राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउँदै भलिबलको राष्ट्रिय रेफ्रीका रुपमा काम गर्दै आउनुभएका उहाँ पनि खेलाडीले खेलसँगै व्यावसायिक पेसासँग जोडिन आवश्यक रहेको बताउनुहुन्छ ।

स्थानीय सरकारले आयोजना गर्ने खेलकुद प्रतियोगितालाई मनोरञ्जनको रुपमा मात्र नभइ खेलाडी उत्पादन गर्ने गरी आयोजना गर्नुपर्नेमा विष्णु जोड दिनुहुन्छ ।
“अहिले जति पनि प्रतियोगिता आयोजना हुन्छन् । ती सबै मनोरञ्जनका लागि हुने गरेका छन् । जनशक्ति उत्पादनतर्फ अझ ध्यान पुग्न सकेको छैन । खेलकुदलाई व्यावसायिक बनाउन सकिएको छैन’’ “उहाँ भन्नुहुन्छ, “एकातिर खेल क्षेत्रमा खेलाडीको भविष्य सुनिश्चित नहुने र अर्कोतिर नयाँ खेलाडी उत्पादनमा सरकार जिम्मेवार नहुने हो भने खेल क्षेत्र नै धरापमा पर्न सक्ने चिन्ता छ ।”

“विष्णु स्थानीय क्षेत्रमा खेलकुदका गतिविधि सञ्चालन हुन नसकेकै कारण युवाहरू लागुऔषधको दुव्र्यसनमा फस्दै गएको बताउनुहुन्छ । सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य–सचिव दीपक सिंहले खेलाडीलाई व्यावसायिक खेलकुदमा जोड्ने गरी काम भइरहेको जानकारी गराउनुहुन्छ। प्रदेशस्तरमा खेलकुद प्रतियोगितालाई प्रोत्साहन गर्नाका साथै खेलकुद मैदान निर्माणलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको उहाँ बताउनुहुन्छ ।

“कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुरमा खेलकुद रङगशाला निर्माणको काम सुरु गरेका छौँ । अन्य खेलकुदको प्रदेश कार्यविधि बनाउने काम भइरहेको छ ।” सदस्यसचिव सिंह भन्नुहुन्छ, “यसले खेल क्षेत्र, खेलाडीको संरक्षण र व्यावसायीकरणमा सहयोग पुग्ने विश्वास लिएका छौंँ ।”
जनशक्ति र बजेटको अभावका कारण खेलाडीको अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै उहाँ त्यसको व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय भइरहेको उल्लेख गर्नुहुन्छ ।

“जनशक्तिको अभाव, सीमित बजेटले धेरै काम गर्नुपर्ने बाध्यता छ । त्यसकारण पनि खेलाडीको मर्मअनुसार काम गर्न सकिएको छैन ।”सदस्य–सचिव सिंह भन्नुहुन्छ,“त्यसका बाबजुद पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेका छौँं । मुख्यमन्त्री कपको तयारी हुँदैछ । प्रदेशमा ११ बिधाका खेललाई परिषद्ले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’’

 


Thali Mobile Pvt.Ltd.