भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

गमगाढ खोलामा पुल नहुँदा सास्ती

गमगाढ खोलामा पुल नहुँदा सास्ती

मुगु। छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी माया बुढा विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै तर्ने गर्नुहुन्छ ।

सोही नगरपालिकाकै वडा नं १ श्रीनगर गाउँमा रहेको मीन मावि कक्षा ७ मा अध्यनरत छात्रा सपना मल्ल र महाकाली नमुना मावि कक्षा ८ मा अध्ययनरत छात्र मुस्कान मल्ल आफ्नो घरबाट विद्यालय जाँदा गमगाढ खोलामाथिका दुई लाप्का भएर जानुपर्ने भएकाले सधैं विद्यालय जाँदा र घर फर्कंदा डराउँदै खोला तर्ने गरेको सुनाउँछन् ।

मुगुम कार्मारोङ्ग गाउँपालिका–१ डोल्फु गाउँका छिरिङ आग्मु लामा उक्त खोला तर्दा काठका लप्का हल्लिएर रिँगटा लाग्दा खोला किनारमा खसेको सम्झँदै भन्नुभयो, “सदरमुकामबाट यार्सा पाटन जाँदा चाहिने औषधि, लत्ताकपडा र खानेकुरा किनेर घर जाँदै थिएँ खोलामा खसेँ, भारी बगायो म बाँचे ।”

जिल्ला सदरमुकाम जाँदा र फर्किंदा बाटोमा पर्ने गमगाढ खोलाको अल्कासाँघु भन्ने स्थानमा पक्की पुल नहुँदा सिङ्गो मुगुम कार्मारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिका–१९ गाउँका बासिन्दाले सधैँ सास्ती भोग्दै आएका छन् ।

मीन माविमा अध्ययनरत विद्यार्थी आकाशमा कालो बादल आउनासाथ बिदा मागेर घर जान हतार गर्ने गरेको शिक्षक शिवलक्ष्मी मल्ल बताउनुहुन्छ । बाढी आएर खोला तर्न कठिन हुने भएकाले पानी पर्नुभन्दा पहिल्यै खोला तरिसक्न पढाइ बीचमै छाडेर विद्यार्थी घर जान हतार गर्ने गरेका रहेछन् । पुल नहुँदा त्यही खोला तरेर आउने विद्यार्थीको पढाइमा समेत असर गरेको शिक्षक मल्लले बताउनुभयो ।

गमगढी–नाक्चेलाग्ना सडक गमगढी बजारबाट १८ किमी मुगुम कार्मारोङ्ग–९ छाइलको सुलसुले भीरसम्म पुगे पनि यो खोलामा पुल नहुँदा र खोला ठूलो भएकाले गाडीले खोला तर्न नसक्दा बिरामीलाई बोकेर जिल्ला अस्पताल तथा सदरमुकामसम्म पनि ल्याउन कठिन हुने गरेको छ ।

“खोलामा पुल भइदिएको भए सडकमा सवारी साधन नियमित हुन्थे, बिरामीलाई समयमै जिल्ला अस्पताल र हवाई मार्ग भएर सुविधा सम्पन्न अस्पतालमा लैजान सहज हुने थियो, अहिले पुल नभएकै कारण यो सडकमा यातायातका साधन चलेका छैनन्, मानिसहरुलाई आवतजावतमा समस्या भोग्नुपरेको छ”, लुम्स गाउँका स्थानीयवासी कम्बर ऐडी भन्नुहुन्छ ।

विगतका वर्षहरुमा गमगाढ खोलामा पानीको बहाव बढेमा र बाढी आएमा मानिसहरु चाटया बगर र हाडढुङ्गा भन्ने स्थानमा रहेका झोलुङ्गे पुलको वैकल्पिक बाटो भएर खोला तर्ने गदर्थे । विसं २०७९ असोज १७ देखि २३ गतेसम्म परेको पानीले गमगाढ खोलामा बाढी आएर ती दुवै पुल बगाएपछि मानिसहरुलाई खोला तर्ने अन्य कुनै विकल्प नहुँदा बाध्य भएर जति समस्या आए पनि खोला तर्नुपर्ने भएको हो ।

यो खोलामा छायाँनाथ रारा नगरपालिकाले प्रत्येक बर्खामा काठको साँघु हाल्दै आए पनि बाढीले सधैँ साँघु बगाउँदै लग्ने गरेको नगर उपप्रमुख ऐश्वर्य मल्लले बताउनुभयो । यस वर्ष पनि नगरपालिकाले काठको साँघु बनाउन रु। चार लाख छुट्याएर काम सुरु गरिसकेको उपप्रमुख मल्लले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाको त्यो ठाउँमा स्थायी झोलुङ्गे पुल राख्ने योजना थियो, तर यही खोलामा सडक डिभिजन कार्यालय जुम्लाले गाडी गुड्ने स्थायी पुलको ठेक्का खोलिसकेको बताएकाले दोहोरो खर्च नहोस् भनेर पुल नबनाएका हौँ ।”

 


Thali Mobile Pvt.Ltd.