काठमाण्डौ । ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती बढेको छ । भूकम्प प्रभावित क्षेत्रमा पालिकाहरुसँग समन्वय गरेर राहत वितरण भइरहेको छ । सडक पुगेका क्षेत्रमा हिजैदेखि राहत वितरण भइरहेको छ । सम्बन्धित पालिकासँग समन्वय र छलफल गरेर राहत पुर्याउन थालिएको छ । दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत राहत पठाउने तयारी भएको छ ।
धेरैजसो ग्रामीण क्षेत्रका सडकमा गाडी चलाउन मिल्ने अवस्था छैन । केही सडक भूकम्पका कारण भत्किएका छन् । यसले गर्दा दुर्गम क्षेत्रमा राहत पठाउन कठिनाइ भइरहेको जिल्ला प्रशासन कार्यालय जारकोटले जनाएको छ । गएको शुक्रवार राति भूकम्प गएपछि धेरैजसो खुलाचौर, सामुदायिक भवन, विद्यालयमा बसेका छन् । कतिपय चिसो भुँइमा पराल र म्याट ओछ्याएर बसेका छन् ।
यसरी खुल्ला रुपमा बसेकाहरुलाई चिसोले सताउन थालेको छ । खासगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीको स्वास्थ्यमा समस्या पर्न थालेको छ । कतिपयलाई न्यानो कपडा वितरण गरे पनि धेरैले पाएका छैनन् । चिसोमा दिनरात बिताउन बाध्य भएका प्रभावितहरुलाई बेलाबेला आइरहने परकम्पले थप त्रासमा पारेको छ ।
बेलाबेला शक्तिशाली परकम्प गइरहेकाले राहत वितरणमा समेत समस्या पर्न थालेको जिल्ला प्रशासन कार्यालयले बताएका छन् । धेरैजसो ग्रामीण क्षेत्रका सडकमा गाडी चलाउन मिल्ने अवस्था छैन । केही सडक भूकम्पका कारण भत्किएका छन् ।
