घुम्ती स्वाब सङ्कलन साधन तयार हुँदै

घुम्ती स्वाब सङ्कलन साधन तयार हुँदै

२३ साउन २०७७ ललितपुर । नेपाल प्रहरीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लाई घुम्ती स्वाब सङ्कलन साधन निर्माण गरिदिन आग्रह गरेको छ । कोरोना सङ्क्रमितलाई सुरक्षित बोक्न प्रहरीले नाष्टलाई सो आग्रह गरेको हो ।

कोरोना सङ्क्रमण नफैलिने प्रविधि एक भ्यान र दुई एम्बुलेन्समा जडान गर्न प्रहरीलाई सहयोग गर्ने नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले जानकारी दिए । नाष्टले यसमा लाग्ने आर्थिक लगानी, उपकरण र जनशक्तिबारे जानकारीसमेत गराइसकेको जनाएको छ । प्रहरीले नाष्टलाई केही दिनअघि यसका लागि अनुसन्धान गरिदिनसमेत अनुरोध गरेको थियो । नाष्टले सवारी साधनमा कोरोनाको जोखिम हटाउन प्रयोग गरिने हरेक चिजको आकलन गरी पठाइसकेको छ ।

यसअघि नाष्टले यही साउन १३ गते बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा मोबाइल स्वाब कलेक्सन भेइकल निर्माण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ । सो भेइकलको प्रयोग हाल विभिन्न सरकारी निकायमा कोरोना परीक्षण गर्न प्रयोग भइरहेको छ । मुलुकमा कोरोना महामारी बढेसँगै गत चैत ११ गतेदेखि भएको बन्दाबन्दीमा नाष्टले कोरोनाबाट जोगिने नौवटा प्रविधि विकास गरेको बताइएको छ ।

यी प्रविधिमा हात धुने र हात धुँदा अरुलाई सङ्क्रमण नफैलियोस् भनी दुईवटा ‘हयान्ड वास स्टेशन’, खुट्टाले थिची हात धुन मिल्ने ‘फुट अपरेटेड स्यानिटाइजर डिस्पेन्सर’, अस्पतालमा स्वाब सङ्कलन गर्न प्रयोग हुने ‘स्वाब कलेक्सन बुथ’, अस्पतालमा बिरामी हेर्न जाँदा अपनाउनुपर्ने सावधानीका लागि ‘आइसोलेसन वाड’, रगत झिक्नुपरेमा अपनाउने सुरक्षाका लागि ‘बल्ड कलेक्सन क्लिनिक’, रगत झिक्ने व्यक्तिमा सङ्क्रमण हटाउन ‘डिस इन्फेक्सन रोबट’ निर्माण गरिसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले हावाबाट पनि कोरोना सङ्क्रमण सर्नसक्ने आकलन गरेसँगै हरेक मानिसले उच्च तवरको मास्क लगाउनुपर्ने नाष्टले महसुस गरी धुन मिल्ने ‘एन–९५ का साथै एन–९९ इकुभ्यालेन्ट नेपाल मेड’ मास्क बनाएर परीक्षण गरिरहेको प्र्रविधि सङ्काय प्रमुख डा रवीन्द्र ढकालले जानकारी दिए ।RSS

 


Thali Mobile Pvt.Ltd.