नेपाल कर्मचारी समाज, इन्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा समसामयिक राजनीतिक विषयमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरको इतिहास, अग्रजहरूको संघर्ष र योगदान नयाँ पुस्तालाई बुझाउनुपर्ने बताउनुभयो ।
भक्तपुरमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भए पनि सरकारले स्वीकृति नदिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
नगरप्रमुख सुनिल प्रजापतिले कर्मचारीलाई जिम्मेवारी पूरा गर्न र श्रमदानको भावना विकास गर्न आग्रह गर्नुभयो ।
कलेजका प्राचार्यहरूले कर्मचारीको सेवाभाव, वैचारिक स्पष्टता र शैक्षिक संस्थाको उद्देश्यबारे धारणा राख्नुभयो ।
भक्तपुर, २७ कार्तिक । नेपाल कर्मचारी समाज, इन्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक राजनीतिक विषयमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको विकासलाई बुझ्न यहाँको विगत, इतिहास र अग्रज पुस्ताले गरेका संघर्षबारे जानकारी लिन आवश्यक रहेको बताउनुभयो ।
नयाँ पुस्तालाई भक्तपुरको इतिहास, अग्रजहरूले गरेका आन्दोलन, संघर्ष र योगदानबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उहाँले विगतका अनुभवबाट नयाँ पुस्ताले सिक्नुपर्ने बताउनुभयो । समाज रूपान्तरणका लागि अग्रज पुस्ताले गरेका संघर्ष र योगदानलाई स्मरण गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो । भक्तपुरमा किसानहरूको बाहुल्यता रहेकाले यहाँको विकास प्रक्रिया केही ढिलो भए पनि उल्लेखनीय प्रगति भएको बताउँदै भक्तपुरका जनता राजनीतिक रूपमा सचेत रहेको उल्लेख गर्दै यहाँ कम्युनिस्ट विचार र गतिविधि सफल हुनुमा जनताको भूमिका महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भक्तपुरमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भइसके पनि सरकारले स्वीकृति दिन चासो नदेखाएको बताउनुभयो । सस्तो शुल्कमा चिकित्सा शिक्षा प्रदान गर्ने विषयमा समेत सरकारको ध्यान पुग्न नसकेको उहाँको भनाइ थियो । भक्तपुरलाई विश्वविद्यालय दिनुपर्छ भन्ने सबैको मत हुँदाहुँदै पनि स्वीकृति नदिनु पूर्वाग्रही सोच भएको उहाँले टिप्पणी गर्नुभयो । भक्तपुरका शैक्षिक संस्थाहरूमा बन्द र हडताल नहुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै आफूहरूले गरेको काम खेर नजाने विश्वास व्यक्त गर्नुभयो । उहाँले निरन्तर जनताको सेवा गर्ने भावना राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप सर्कलअन्तर्गतका कलेज स्थापना गर्न अग्रजहरूले पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताउनुभयो । कर्मचारीहरूले आफ्नो जिम्मेवारी र कर्तव्य इमानदारीपूर्वक पूरा गर्नुपर्ने उल्लेख गर्दै आफूले जानकारी पाएका सूचना सम्बन्धित निकायसम्म समयमै पुर्याउनु पनि कर्मचारीको दायित्व भएको बताउनुभयो ।
भदौ २३ र २४ गतेका घटनालाई स्मरण गर्दै उहाँले भक्तपुरका जनता राजनीतिक रूपमा सचेत भएकै कारण ती घटनाको असर यहाँ कम परेको धारणा राख्नुभयो । भक्तपुरको शैक्षिक क्षेत्रको विकासका लागि लामो समय लागेको उल्लेख गर्दै शिक्षामा देखिने गरी सकारात्मक परिवर्तन हुनु सुखद पक्ष भएको बताउनुभयो । नगरपालिकाले हप्तामा दुई दिन जनप्रतिनिधि तथा कर्मचारीलाई सरसफाइ कार्यमा सहभागी गराउँदै आएको उल्लेख गर्दै उहाँले यसबाट श्रमदान गर्ने भावना विकास गर्न सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले इन्जिनियरिङ शिक्षाको क्षेत्रमा कलेजलाई उत्कृष्ट बनाउन प्रयास भइरहेको बताउनुभयो । विश्वविद्यालय शिक्षामा हप्तामा दुई दिन बिदा दिने व्यवस्थाले शैक्षिक गतिविधिमा असर परेको उल्लेख गर्दै नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको उद्देश्यबारे स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले ख्वपअन्तर्गतका कर्मचारीहरूले निःस्वार्थ भावनाका साथ सेवाभावले काम गरिरहेको बताउनुभयो । कर्मचारीहरू पनि बौद्धिक मजदुर भएको उल्लेख गर्दै समाजले उनीहरूबाट छुट्टै अपेक्षा राख्ने भएकाले वैचारिक रूपमा स्पष्ट हुन र सही तथा गलत छुट्याउन सक्ने हुनुपर्ने बताउनुभयो ।
समाजका अध्यक्ष सिद्धिराम सुवालले स्वागत मन्तव्य राख्दै कर्मचारीहरू बौद्धिक मजदुर भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम र समसामयिक विषयबारे पर्याप्त जानकारी राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा समाजका पुण्यराम स्वंगमिखाले पनि समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
