लमजुङ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक खण्ड आजदेखि दुई बन्द हुने भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले काठेपुल निर्माणका लागि आज बिहान १० बजेदेखि भोलि अपराह्न ५ बजेसम्म सडक बन्द हुने डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयले जानकारी दिएको छ ।
बेँसीसहर चामे सडकखण्ड अन्तर्गत मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नम्बर २ स्थित स्यार्कु खोलाको काठे पुल गरी दुई ठाउँमा काठेपुल निर्माण गर्न लागेको र सो स्थानमा वैकल्पिक सडक नभएकाले सडक बन्द गरिएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले बताए । समयमै जीर्ण पुल मर्मत गर्नसकेमा कुनै मानवीय तथा भौतिक क्षति नहुने भएकाले तत्काल नयाँ पुल निर्माण गर्न लागेको उनको भनाइ छ ।
पुल निर्माणको लागि मङ्गलबारबाटै रूख काट्ने, पुलको लागि फलेक बनाउनेलगायतका काम हुँदै आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियरले बताए । सो स्थानमा सवारी साधनलाई धेरै जोखिम हुँदै आएपछि मर्मतका लागि मनाङको जिल्ला प्रशासन कार्यालयलाई दुई दिनको लागि सडक बन्द गर्न सूचना प्रकाशित गर्न अनुरोध गरेर प्रशासनले समेत बुधबार सूचना जारी गर्दै सडक बन्द हुने ब्यहोरा जानकारी दिएको छ ।
मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो तर पछि जनयुद्ध र अन्य विविध कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक विसं २०५७ बाट सडक अघि बढाउने पुनः जिम्मेवारी प्राप्त गर्यो ।
