भक्तपुर । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा भदौ २७ देखि ३० गतेसम्म नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चाँशुले बुधबार भक्तपुर भ्रमण गरेका छन् ।
अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खौमास्थित भक्तपुर दरबार क्षेत्रमा स्वागत गरे । अध्यक्ष चांशु नेतृत्वको ७० जनाको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर,
राष्ट्रिय कला संग्रहालय भवन, लुँ ध्वाका, पच्पन्न झ्याले दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको निकै रुचिपूर्वक अवलोकन गरे ।
प्रतिनिधिमण्डलको स्वागतमा केदारनाथसँगैको डबलीमा भैल प्याखं प्रदर्शन गरिएको थियो । अध्यक्ष चाँशुुले भक्तपुरको सम्पदाहरु अवलोकनबाट आफू प्रभावित भएको बताए । भक्तपुरमा स्वागत गरेकोमा नगरपालिका र सम्पूर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद दिए ।
उनले चीनमा पनि सयौं वर्ष पुराना संस्कृतिहरु जीवन्त रहेको बताए । उनले भक्तपुरको प्रख्यात भैल प्याखंलाई अत्यन्त चासोकासाथ अवलोकन गरे । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले लिलाई भक्तपुरमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यस्ता अवसरहरु प्राप्त हुने आशा व्यक्त गरे ।
अध्यक्ष चाँशुलाई नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, बागमती प्रदेश सभा सदस्यद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्मा तथा भक्तपुर नगरपालिका कार्यपालिका सदस्यहरुले स्वागत गरेका थिए ।
भ्रमणपश्चात टौमढीको डबलीमा अध्यक्ष ली चाँशुले सांसद सुवाल र नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गरेका थिए । सांसद सुवाल र प्रमुख प्रजापतिले अध्यक्ष चाँशुलाई ‘मयुरको झ्याल’ र पार्टी तथा नगरपालिकाका प्रकाशनहरु मायाको चिनोको रुपमा प्रदान गरेका थिए ।
यसैबीच नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चाँशुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।महाराजगन्जस्थित राष्ट्रपति कार्यालयमा अपराह्न भएको भेटमा राष्ट्रपति भण्डारीले चिनियाँ नेता लीको नेपाल भ्रमणप्रति खुसी व्यक्त गरिन् ।
नेपाल भ्रमणमा रहँदा पाएको सद्भाव, आत्मीयता र सम्मानप्रति आभार व्यक्त गर्दै चाँशुले नेपाल, चीनको लामो समयदेखिकै असल छिमेकी रहेको बताए । अध्यक्ष ली बीच आपसी हित, मित्रता र सहकार्यलगायत नेपाल –चीन सम्बन्धको बहुआयामिक पक्षमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तस्वीरमा…


