कञ्चनपुर । जङ्गली हात्तीको आवागमन र आक्रमण बढेपछि कञ्चनपुरका चुरे फेदीका सामुदायिक वनमा प्रवेश निषेध गरिएको छ । मानवीय क्षति हुन नदिन यसका लागि वन प्रवेशमा रोक लगाइएको हो ।
जङ्गली हात्ती ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले वन क्षेत्रसँगै नजिकका बस्तीमा ओहोरदोहोर गर्दै आक्रमण बढाएपछि वन क्षेत्र प्रवेशमा निषेध गरिएको बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराले बताए ।
प्रजननका बेला मत्तहात्ती आक्रामक हुने भएकाले आक्रमण गर्ने भएकाले वन क्षेत्र प्रवेश रोक्नका लागि सार्वजनिक सूचना जारी गरिएको उनको भनाइ छ । हात्ती हिँडने बाटामा सिसीटिभी क्यामेरा जडान गरी निगरानी राख्ने कामसमेत भइरहेको छ ।
दुधुवाबाट चुरेसम्म हिँड्ने हात्तीको करिडोर बचाउन र अतिक्रमण हटाई त्यसमा बसेका बासिन्दालाई अन्यत्र पुनःस्थापन गरिनुपर्ने उनको भनाइ छ । यस्तो गरिए मानवीय र भौतिक क्षतिलाई कम गर्न सकिन्छ ।
