सर्लाही । सदरमुकाम मलंगवास्थित एक अवैध क्लिनिकमा गरिएको शल्यक्रियाले सुत्केरीको मृत्यु भएको घटनामा पीडितलाई आर्थिक प्रलोभनमा देखाएर मिलापत्र गर्न खोजिएको छ ।
पोलिक्लिनिकका सञ्चालकले रकमको प्रलोभन देखाएर जिल्ला प्रशासनमा परेको ठाडो उजुरी फिर्ता लिन दबाब दिँदै आएका छन् । गत भदौ १२ गते मलंगवा नगरपालिका–१० की २४ वर्षीया सविता भनिने सहतीकुमारी साह मलंगवा–९ स्थित अमर्त्य पोलिक्लिनिकमा भर्ना भएकी थिइन् । क्लिनिकमा शल्यक्रिया गरेर बच्चा निकालिएको चार दिनपछि गत मंगलबार बिहान साहको मृत्यु भएको थियो ।
अवैध किसिमले अप्रेसन थिएटर सञ्चालन गरिरहेको पोलिक्लिनिकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आवश्यक क्षतिपूर्तिसहित दोषीउपर कानुनी कारबाही माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।उजुरी परेलगत्तै छानबिन प्रक्रिया अगाडि बढेपछि पोलिक्लिनिकका सञ्चालक डा. सुरेन्द्र यादवले पीडितलाई मिलाउन हरसम्भव प्रयास गरिरहेका छन् ।
