काठमाडौं । वृहत् शान्ति सम्झौताअन्तर्गत पीडित र पीडकलाई पनि स्वीकार्य हुने गरी सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन ल्याउनुपर्ने कांग्रेसले बताएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी, पूर्व पदाधिकारीसहितका शीर्ष नेताको बैठकले यी दुई आयोगको ऐनका विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘टीआरसी बिलका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र शीर्ष नेताबीच छलफल भएको छ । सभापति र पदाधिकारीलाई यो बिलका प्रावधानका विषयमा जानकारी गराइएको छ ।
शान्ति सम्झौताअन्तर्गत पीडित र पीडकलाई पनि स्वीकार्य हुने गरी ऐन बन्नुपर्छ भन्नेमा छलफल भयो । यसमा पनि थप सुझाव छन् कि भनेर छलफल भएको छ ।’ ऐन बनाउँदा सर्वोच्चको आदेश, भइरहेको अभ्यास, सदनमा उठेका विषयलाई पनि प्राथमिकता दिने कुरा भएको उनले बताए ।
